पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ आङ्साराङका आसबहादुर आङ्देम्बे लिम्बु, जसलाई धेरैले ‘एबी’का नामले चिन्छन्, आज नेपाली संगीत क्षेत्रमा आफ्नै परिचय बनाउन सफल गायक हुन् । उनका झण्डै ५० वटा गीत सार्वजनिक भइसकेका छन् । देशका विभिन्न सांगीतिक कार्यक्रममा उनी नियमित रूपमा सहभागी भइरहेका छन् । तर यो सफलता एकैदिनमा प्राप्त भएको होइन । गाउँको गोठमा गाइवस्तु चराउँदै गीत गाउने बालकदेखि रेकर्डिङ स्टुडियो र सांगीतिक मञ्चसम्म पुग्न उनले लामो संघर्ष, निरन्तर अभ्यास र धैर्यको यात्रा तय गरेका छन् ।
एबीको जन्म २०४८ साल असार ३ गते साविक आङ्साराङ गाविस–७, अहिले फाल्गुनन्द गाउँपालिका–७ मा भएको हो । उनी आठ भाइ मध्ये साइँला छोरा हुन् । उनका बुबा फौदसिं आङ्देम्बे भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो भने आमा स्वर्गीय मनकुमारी लाओती आङ्देम्बे गृहिणी हुनुहुन्थ्यो ।
बुबा जागिरका कारण धेरैजसो भारतमै रहने र दाजुभाइ पनि घरबाहिर भएकाले एबीले सानै उमेरदेखि घरको जिम्मेवारी सम्हाल्नु परेको थियो । बिहान गाइवस्तु चराउने, घाँस–दाउरा गर्ने, घरको काममा सघाउने र त्यसपछि विद्यालय जाने उनको दैनिकी थियो । विद्यालय पुग्न कहिले आधा घण्टा त कहिले दुई घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था थियो । उकालो–ओरालो बाटो, वर्षाको मौसम र अभावका बीच पनि उनले पढाइलाई कहिल्यै छाडेनन् । उनले प्रारम्भिक शिक्षा कराङटार आधारभूत विद्यालयबाट पूरा गरे । त्यसपछि कक्षा ६ देखि ८ सम्म ज्योति निमावि आङ्साराङमा अध्ययन गरे। माध्यमिक तहको अध्ययन इलाम र पाँचथरको सिमानामा रहेको घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयबाट पूरा गर्दै २०६६ सालमा एसएलसी उत्तीर्ण भए ।
बाल्यकालदेखि नै एबीलाई गीत–संगीतप्रति विशेष रुचि थियो । गाउँमा रेडियोमा बज्ने गीत सुन्ने र त्यसैलाई पछ्याउँदै गुनगुनाउने उनको बानी थियो । नारायण गोपाल, भक्तराज आचार्य, गुलाम अली र आशा भोस्लेका गीत उनी बारम्बार सुन्थे । गाईवस्तु चराउन जंगल जाँदा, खेतबारीमा काम गर्दा वा एक्लै हिँड्दा पनि उनी गीत गाउँदै रमाउँथे । त्यतिबेला उनलाई संगीत सिक्ने अवसर थिएन, तर गीतप्रतिको माया भने दिनप्रतिदिन बढ्दै गइरहेको थियो । एबीका अनुसार गाउँका डाँडापाखा, जंगल र गोठ नै उनका पहिलो संगीत विद्यालय थिए । प्रकृतिको बीचमा गुनगुनाउँदै बिताएका ती दिनले नै उनको स्वरलाई संगीततर्फ डो¥यायो ।
एसएलसीपछि गाउँमा बसेर संगीतमा भविष्य बनाउन कठिन हुने महसुस गरेपछि उनले २०६७ सालमा झापाको दमक जाने निर्णय गरे । त्यो निर्णय उनको जीवनको महत्वपूर्ण मोड सावित भयो ।
परिवार र जन्मथलो छाडेर नयाँ ठाउँमा पुगेका एबीका लागि त्यो समय सहज थिएन । आर्थिक अभाव पनि थियो, भविष्यको अन्योल पनि। तर उनीसँग एउटा सपना थियो संगीतलाई जीवन बनाउने । दमक पुगेपछि उनले युनिक कलेजमा अध्ययन सुरु गरे। पढाइसँगै सुरभि संगीत केन्द्रमा गुरु अनिल फागोसँग औपचारिक रूपमा संगीत सिक्न थाले । लगातार तीन वर्षसम्म उनले स्वर, ताल, लय र गायनका आधारभूत पक्ष सिके। त्यही समयमा कम्प्युटर र अंग्रेजी भाषाको अध्ययन पनि गरे ।
उनका लागि त्यो समय पढाइको मात्र होइन, आफूलाई कलाकारका रूपमा तयार पार्ने समय थियो। गाउँमा रहँदा रहरका रूपमा रहेको संगीत अब उनको लक्ष्य बन्न थालेको थियो। नियमित अभ्यास, गुरुको मार्गदर्शन र केही गरेर देखाउने दृढ इच्छाले उनलाई अझ आत्मविश्वासी बनाउँदै लग्यो । दमकको बसाइले एबीलाई एउटा कुरा सिकायो प्रतिभा मात्रै भएर पुग्दैन, सफल हुन निरन्तर अभ्यास र मेहनत आवश्यक हुन्छ। यही विश्वासका साथ उनले आफ्नो अर्को गन्तव्य काठमाडौं बनाउने निर्णय गरे, जहाँबाट उनको सांगीतिक यात्राले नयाँ मोड लिने थियो। दमकमा तीन वर्षसम्म संगीत सिकेपछि एबीले आफ्नो सपना अझ ठूलो बनाउने निर्णय गरे । संगीतलाई पेशाकै रूपमा अघि बढाउन अब काठमाडौं पुग्नैपर्ने उनको निष्कर्ष थियो । त्यसैले २०७० सालमा उनी राजधानी पुगे ।
काठमाडौंमा बसाइँ सुरु गर्नु भने जस्तो सहज थिएन । नयाँ स्थान, सीमित आर्थिक अवस्था र भविष्यको अनिश्चितता बीच उनले आफ्नो लक्ष्य भने बदल्न दिएनन्। उनी कला निधि इन्दिरा संगीत महाविद्यालयमा भर्ना भए र २०७६ सालसम्म औपचारिक रूपमा संगीत अध्ययन गरे । यस अवधिमा उनले संगीतका सैद्धान्तिक र व्यवहारिक पक्षलाई अझ गहिरोसँग बुझ्ने अवसर पाए । काठमाडौंमा संघर्षका दिन धेरै थिए । पढाइसँगै दैनिक खर्च व्यवस्थापन गर्नुपर्ने, नियमित रियाजका लागि समय निकाल्नुपर्ने र संगीत क्षेत्रमा आफूलाई स्थापित गर्न अनेक प्रयास गर्नुपर्ने अवस्था थियो । कोठामा बसेर अभ्यास गर्दा छिमेकीबाट गुनासो आउँथ्यो। आर्थिक अभावका कारण कतिपय अवसर पनि गुमाउनुपथ्र्यो। तर ती चुनौतीले उनको आत्मविश्वास कमजोर बनाएनन् । एबी भन्छन्, ‘संगीतमा सफल हुन चाहनेले संघर्षसँग मित्रता गर्नैपर्छ । सजिलो बाटो रोजेको भए सायद आज यो ठाउँमा पुग्न सक्दिनथेँ ।”
उनको सांगीतिक यात्रामा परिवारको साथ महत्वपूर्ण रह्यो । विशेषगरी उनका जेठा दाजु राजु आङ्देम्बे स्थापित र चर्चित गायक हुन् र उनकै आर्थिक सहयोग, नैतिक र भावनात्मक रूपमा निरन्तर साथ पाए । दाजुका नामले चिनिने मौका पाएर पनि उनी आफुलाई भाग्यशाली ठान्थे । उनै साँगीतिक यात्राको
प्रेरणाले थप उर्जा थपेको बताउँछन् । कलाकार बन्ने आत्मविश्वास पनि दाजुले नै बढाइदिएको उनी सम्झन्छन् । आफन्त गायक यादन नुनाम शेर्माको प्रेरणा र सहयोगले पनि उनी अगाडि बढ्न हौसिए। २०६७ सालदेखि एक जना अग्रजको सुझावमा उनले आफ्नो सांगीतिक नाम ‘एबी’ राख्न थाले। छोटो, सरल र सम्झन सजिलो भएकाले यो नाम विस्तारै उनका श्रोतामाझ लोकप्रिय बन्दै गयो ।
लामो समयको तयारीपछि २०७६ सालमा उनले पहिलो पटक ठूलो मञ्चमा गीत गाउने अवसर पाए । ललितपुरमा आयोजित याक्थुङ चुम्लुङको विशेष कार्यक्रममा उनले पहिलो औपचारिक प्रस्तुति दिए । त्यो दिन उनी निकै उत्साहित थिए। बाल्यकालदेखि मनमा बोकेको सपना पहिलो पटक ठूलो मञ्चमा साकार भएको थियो । उक्त प्रस्तुति सफल भएपछि एबीको आत्मविश्वास अझ बढ्यो। त्यसपछि विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा उनी नियमित रूपमा सहभागी हुन थाले । वि.सं.२०७८ सालमा उनको सांगीतिक जीवनमा अर्को महत्वपूर्ण उपलब्धि थपियो । ललितपुरस्थित ओपेरा स्टुडियोमा उनको पहिलो लिम्बू गीत ‘माङ्सेवा किजोक्पा’ रेकर्ड भयो। आफ्नै स्वर पहिलो पटक स्टुडियोमा रेकर्ड हुँदा उनले वर्षौँदेखिको सपना पूरा भएको अनुभूति गरेका थिए। त्यसपछि नेपाली गीत ‘तिमीले हेर्यौ’ सार्वजनिक भयो। यही गीतबाट उनी नेपाली संगीतका श्रोतामाझ अझ परिचित बन्दै गए। त्यसपछि भने उनले पछाडि फर्केर हेर्नुपरेन ।
अहिलेसम्म एबीका करिब ५० वटा गीत रेकर्ड भइसकेका छन् । ती मध्ये ‘चारपाथे ठेकी दारैको’ गीतलाई उनी आफ्नो विशेष सिर्जना मान्छन् । डिपी खनालको शब्द, साजन राईको संगीत तथा चर्चित गायिका मेलिना राईसँगको युगल स्वरमा रहेको उक्त गीतले स्रोताबाट राम्रो प्रतिक्रिया पाएको छ । यस अवधिमा उनले मेलिना राई, अञ्जु पन्त, सुनिता थेगिम, दीपा लामा, सुष्मा लिम्बु, श्रेया राई र श्रीयासी चेम्जोङलगायत चर्चित गायिकासँग सहकार्य गरिसकेका छन् । विभिन्न सांगीतिक कार्यक्रम मार्फत् देशका धेरै जिल्लामा पुगेर प्रस्तुति दिइसकेका उनी आफ्नो स्वरबाट श्रोतासँग जोडिन पाएकोमा गर्व महसुस गर्छन् । सांगीतिक योगदानका लागि उनले विभिन्न संघ–संस्थाबाट सम्मान र अवार्ड पनि प्राप्त गरेका छन् । तर उनका लागि सबैभन्दा ठूलो पुरस्कार भने श्रोताको माया र विश्वास नै हो । एबी भन्छन्–‘मानिसहरूले मेरो गीत मन पराएर सुन्नु र मञ्चमा साथ दिनु नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो। त्यसले अझ राम्रो काम गर्न प्रेरणा दिन्छ ।’
गायक आसबहादुर आङ्देम्बे ‘एबी’का लागि गीत–संगीत मनोरञ्जनको माध्यम मात्र होइन, आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने अभियान पनि हो । त्यसैले उनले लोकभाका, लिम्बू तथा अन्य मातृभाषाका गीत गाउन विशेष रुचि राख्छन् । उनका अधिकांश गीतमा गाउँको जीवन, मौलिक संस्कृति, प्रकृति र नेपाली समाजका यथार्थ झल्किन्छन् ।
0 Comments:
Post a Comment