विश्व परिवेशसँगै मानिसका रुचिहरू छिनछिनमै बद्लिने गरेका छन् । आजको डिजिटल युगमा छापा माध्यम टिकाइराख्न सक्नु आफैंमा कठिन कार्य पक्कै हो । धेरै पत्रपत्रिकाहरू कि त बन्द भएका छन् कि अनलाइन माध्यममा फड्को मारेका छन् । पत्रिकाको मुद्रण कार्य सर्वत्र खुम्चिरहेको बेला हामी टिकिरहेका छौं अर्थात् अनमोलमणि साप्ताहिक अविचलित छ ।
अनमोलमणि साप्ताहिक १९ वर्ष पार गर्दै २० औं वर्ष प्रवेश गरेको जानकारी गराउन पाउँदा निक्कै हर्षित छौं । २०६४ साउन १ गते अनमोलमणिले नेपाली सञ्चार जगतमा पहिलो पाइला चालेको थियो । सूचनामाथि आम नागरिकको सहज पहुँज स्थापित गर्दै मुलुकको समृद्धि यात्रामा सारथी बन्ने प्रण अनमोलमणिले आज पनि छोडेको छैन ।
यो १९ वर्षे यात्रामा देशले अपनाएको भोगेको शासन प्रणाली र त्यस क्रममा सिर्जित सबै प्रकृतिका सजिला अप्ठ्याराहरुको अनमोलमणि साक्षी पनि हो । लोकतन्त्र, नागरिक स्वतन्त्रता र सामाजिक रुपान्तरणको यात्रामा यस पत्रिका सधैँ अग्रपंक्तिमा खडा भएको तथ्य छिप्न सक्दैन । यसबारे लामो वृतान्तको जरूरी पनि नरहला । किनभने, आम नागरिकसँग अनमोलमणिले सधैं काँधमा काँध मिलाउने कुरामा कुनै सम्झौता गरेको छैन, गर्ने पनि छैन । तर, हामी हिडेको बाटो सजिलो पनि छैन । मुलुकको सर्वोपरी हित र नागरिक कल्याणको विषयमा बिना सम्झौता अगाडि बढ्ने क्रममा अनमोलमणिले निक्कै अक्करिलो यात्रा पार गर्नुपरेको छ । डेढ दशकको यात्रामा थुप्रै उतारचढाबको सामना गर्नुपरेको छ– अनमोलमणिले ।
विकृति, विसंगति, भ्रष्टाचार र कुशासनविरुद्ध लड्न पक्कै सजिलो छैन, हिजो पनि थिएन । अझ सानो लगानीबाट ठूलो उद्देश्य साथ अगाडि बढेको पाइलाले मूलबाटो भेटाउन निकै मुश्किल थियो, अझै चुनौती छन् । बाटो चौडा छैनन्, अक्करिलो कच्ची गोरेटो भएर हिड्नु भनेकै एउटा पाइलामा संघर्ष र अर्कोमा अदम्य साहसको जरुरी थियो । तर, यी सर्त पालना गर्दै हामीले १६ वर्षे मूल गोरेटो बनाउन सफल भएका छौं । दुःख कष्ट त भोगेकै छौं, कहिल्यै हरेस खाएनौं । यी कष्टसाध्य निरन्तरताको पछाडि आम पाठक वर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरूको अतुलनीय योगदान छ । आज पनि ती अटुट साथ छुटेको छैन । त्यसैले नै हाम्रो परिचय स्थानीय तहको ‘क’ वर्गको साप्ताहिक पत्रिकाका रुपमा स्थापित छ । अनमोलमणिप्रति तपाईहरुको अटुट विश्वास र भरोसालाई हामीले पनि कहिल्यै निराशामा नबदल्ने प्रयास गरिरहेकै छौं ।सबैमा आभार ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment