अतिक्रमण हटाउँदा रगत र क्षयरोगको उपचारमा अन्योल

 

 विराटनगरमा अवस्थित कोशी अस्पतालले ‘अतिक्रमण हटाउने’ भनी चलाएको डोजरले दशकौंदेखि मानवीय सेवामा समर्पित दुई ठूला संस्था नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक) र नेपाल क्षयरोग निवारण संस्थाको सेवा प्रभावित हुने निश्चित भएको छ । 
अस्पताल प्रशासनले आफ्नो जग्गा खाली गराउँदा क्षयरोग र ब्लड बैंकबाट सेवा लिइरहेका बिरामी र रगतको आवश्यकता पर्ने सर्वसाधारणलाई समस्या पर्ने देखिएको हो । सोमबार ती संस्थाले भाडामा लगाइएको सटर अस्पतालले भत्काएको थियो । संस्थालाई पनि भवन खाली गर्न सूचना जारी गरिसकिएको छ ।
वि.सं. २०१६ सालमा झाडी फाडेर स्थापना भएको क्षयरोग निवारण संस्था अहिले सबैभन्दा ठूलो मारमा परेको छ । संस्थाको भवनमा हाल १९ जना 
क्षयरोगीहरू उपचाररत रहेका छन्, जसमा ८ जना त कैदीबन्दी रहेका छन् । कडा किसिमको औषधि सेवन गरिरहेका र पूर्ण रेखदेख चाहिने यी बिरामीलाई कहाँ लैजाने भन्ने कुनै दुविधा भएको छ । 
‘क्षयरोग निवारण पनि सरकारकै कार्यक्रम हो, तर सरकारकै अर्को निकायले विकल्प बिना डोजर चलाउँदा हामी निक्कै स्तब्ध छौं, संस्थाका कार्यवाहक अध्यक्ष भैरव क्षेत्री सुझाउँछन्– ‘हामी जाने स्थान छैन, राज्यले व्यवस्थापन नगरी हटाउनु भनेको बिरामीलाई मर्न छोड्नु जस्तै हो ।’ अस्पतालले सोमबार सटरमा मात्रै डोजर चलाएको छ । संस्थाको भवन भत्काए जटिल परिस्थिति आउने उनले सुनाए । वि.सं. २०४२ सालको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम स्थापित रेडक्रसको ब्लड बैंक पनि विस्थापित हुने अवस्था आएको छ । कोशी अस्पतालमा उपचारका लागि आउने हजारौँ 
बिरामीलाई तत्काल रगत उपलब्ध गराउँदै आएको यो केन्द्र अन्यन्त्र सार्न भनिएको छ । अन्यत्र सारेको अवस्थामा कोशी अस्पतालमा आउने विरामीलाई नै रगतको खोजीका लागि सास्ती हुनेछ । 
रेडक्रस मोरङका अध्यक्ष सुकदेव मण्डलले सरकारको यो कदमलाई ‘निर्मम र गैरजिम्मेवार’ संज्ञा दिएका छन् । उनका अनुसार दाताको सहयोगमा बनेको संरचना भत्काउनु र सेवा रोक्नु मानवीय संवेदनाविहीन कार्य हो । उनले ब्लड बैंक सार्नका लागि बजेट पनि नभएको सुनाए । यता कोशी अस्पताल प्रशासनले भने अस्पतालको गुरुयोजना कार्यान्वयन गर्न जग्गा खाली गराउनुको विकल्प नभएको दाबी गरेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाका अनुसार अतिक्रमित संरचना र भाडाका सटर हटाउने अभियान सुरु भइसकेको छ । ‘प्रथम चरणमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाइएका सटरहरू भत्काएका हौं,’ डा. झाले भन्नुभयो–‘संस्थाहरूलाई अन्यत्र सर्न आग्रह गरिसकिएको छ । क्षयरोग निवारण संस्था उपयुक्त विकल्प खोजेर सर्नुपर्छ र रेडक्रसको त आफ्नै भवन पनि छ ।’

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment