मिक्लाजुङको रमितेमा प्याराग्लाइडिङ संघ गठन, साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य


उर्लाबारी – मोरङको मिक्लाजुङ १ स्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र रमितेमा साहसिक खेलकुद र पर्यटन सम्भाव्यतालाई मुख्य प्राथमिकता दिँदै नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाडिङ संघ मोरङको नयाँ जिल्ला समिति गठन गरिएको छ । उमेश राईको नेतृत्वमा ९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र लामा योञ्जनको प्रमुख आतिथ्यता तथा नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाडिङ संघका केन्द्रीय अध्यक्ष भुपेन्द्र चाम्लिङको विशेष उपस्थितिमा नयाँ समितिको घोषणा गरिएको हो । निर्वाचन समितिकी संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) की प्रतिनिधि कुन्ति गुरुङले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुको नाम आधिकारिक रुपमा घोषणा गर्नुभयो । प्याराग्लाईडिङ पारखीहरुको भेलाले नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिले जानकारी दिएको छ । समितिको उपाध्यक्षमा महेन्द्र मगर, सचिवमा मोहनशेर राई, सहसचिवमा सागर राई र कोषाध्यक्षमा सुजाता राई चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यहरुमा गोपाल नेपाली, गणेशकुमार मिभक ‘केसाङ’, भीमबहादुर चेम्जोङ र हर्कबहादुर लिम्बू रहनुभएको छ ।
कार्यक्रममा बोल्नुहुँदै नेपाली कम्युनिष्ट पार्टी मोरङका इन्चार्ज प्रेम मिभक लिम्बूले पर्यटकहरुलाई भित्र्याई मिक्लाजुङका प्रमुख पर्यटकीय स्थलहरुको प्रचार गर्न यो प्रयास उपयोगी हुने बताउनुभयो । व्यवसायिक उडान सुरु हुन सके प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय स्तरमा रोजगारी सिर्जनामा पनि ठूलो योगदान पुर्‍याउने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । प्याराग्लाइडिङका कारण स्थानीय होटल, यातायात, गाइड, खाद्यान्न, फोटो तथा भिडियो सेवाजस्ता बहुआयामिक क्षेत्रहरु चलायमान बन्न सक्ने उहाँको विश्वास थियो । त्यस्तै, पहिचानवादी नेता अशोक चेम्जोङले साहसिक खेल पर्यटन भित्र्याउँदा लिम्बू समुदायको प्राचीन थातथलो रहेको यस क्षेत्रमा मुन्धुमुको व्यापकता फैलिने अपेक्षा राख्नुभयो । उहाँले यो केवल खेलकुद मात्र नभई मिक्लाजुङको आर्थिक र सामाजिक रुपान्तरणको कोशेढुंगा हुने टिप्पणी गर्नुभयो । खेलकुदका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने साहसिक खेललाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय, नागरिक समाज र सञ्चारमाध्यमको समन्वय र सहयोग अपरिहार्य रहने कुरामा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाडिङ संघका केन्द्रीय अध्यक्ष भुपेन्द्र चाम्लिङले व्यवसायिक उडानको अनुमति र आवश्यक पूर्वाधारमा सहयोग पुगेको खण्डमा रमिते क्षेत्र पूर्वी नेपालकै प्रमुख प्याराग्लाइडिङ गन्तव्य बन्न सक्ने दाबी गर्नुभयो ।
मिक्लाजुङ क्षेत्र प्याराग्लाइडिङ, ट्रेकिङ र विभिन्न साहसिक खेलकुदका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भए तापनि उचित प्रचार(प्रसार र आवश्यक खेल पूर्वाधारको अभावमा लामो समयदेखि ओझेलमा पर्दै आएको छ । नवगठित समितिले ओझेलमा परेका स्थानीय खेलाडीहरुलाई पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने विश्वास लिइएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरी स्थानीय होमस्टे, होटल व्यवसाय र उद्यमशीलतालाई प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउने हुँदा यस कार्यक्रमको विशेष औचित्य रहेको सहभागीहरुले बताएका छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment