– ईश्वर दुलाल
वन, जंगल, सिमसारको सुन्दर सिरबन्दी,
एकता र सद्भावको न्यानो गलबन्दी ।
जाति, धर्म, संस्कृति छन् सबै हाराहारी,
हसहन्दह, शनिश्चरे, पथरी साझा फूलबारी ।।
पथरी शनिश्चरे नगरपालिकाको नगरगीतमा समेटिएका यी हरफहरू शब्दमा मात्र सीमित छैनन्, नगरको वास्तविक पहिचान हुन् । हरियाली वन, सिमसार क्षेत्र, जैविक विविधता र सांस्कृतिक विविधताले भरिएको पथरी शनिश्चरे प्राकृतिक सुन्दरताको उत्कृष्ट उदाहरण बनेको छ ।
पूर्वमा उर्लाबारी नगरपालिका, पश्चिममा कानेपोखरी गाउँपालिका, उत्तरमा लेटाङ र दक्षिणमा सुनवर्षी नगरपालिका बीचमा अवस्थित पथरी शनिश्चरे नगरपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण छ । संघीयता कार्यान्वयनपछि साविकका पथरी, शनिश्चरे र हसहन्दह गाविस मिलेर बनेको यस नगरपालिकाले पर्यावरणीय संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाइरहेको छ ।
नगरभित्र रहेका ६ वटा सिमसार क्षेत्र अहिले पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएका छन् । सामुदायिक वनको संरक्षणमा रहेका यी सिमसारहरूले प्राकृतिक सौन्दर्य मात्र होइन, जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।
सिमसार भन्नाले नदी, ताल, पोखरी, दलदल तथा जलयुक्त क्षेत्रलाई बुझिन्छ । यस्ता क्षेत्रहरूले चराचुरुङ्गी, वन्यजन्तु तथा वनस्पतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छन् । सिमसार क्षेत्रमा पाइने प्राकृतिक दृश्य, शान्त वातावरण र जैविक विविधताले आन्तरिक तथा बाह्य पर्यटकलाई सहजै आकर्षित गर्न सक्छ ।
यदि यस्ता क्षेत्रहरूको व्यवस्थित संरक्षण र प्रचारप्रसार गर्न सकियो भने पर्यावरणमैत्री पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा पथरी शनिश्चरे स्थापित हुन सक्छ । पर्यटन विकाससँगै स्थानीय स्तरमा रोजगारी सिर्जना, व्यवसाय प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने देखिन्छ ।
नेपालमा सामुदायिक वनको अवधारणा वि.सं. २०३५÷०३६ सालदेखि सुरु भएको हो । नागरिकको प्रत्यक्ष सहभागितामा वन संरक्षण गर्ने यस अभियानले वन जोगाउने मात्र होइन, समुदायमा सामूहिक भावना र सामाजिक उत्तरदायित्वसमेत विकास गरेको छ । अहिले सामुदायिक वनहरूले वृक्षारोपण, सीपमूलक तालिम, सिमसार संरक्षण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
हरियाली सामुदायिक वन
हरियाली सामुदायिक वन उपभोक्ता समूह अहिले पथरी शनिश्चरे नगरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । २४५.९५ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनभित्र करिब ९ हेक्टर सिमसार क्षेत्र रहेको छ ।
वनले पर्यटक आकर्षित गर्ने उद्देश्यले “हरियाली वन पब्लिक कम्पनी” स्थापना गरी विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको छ । नेपालको चुच्चे नक्सा आकारको पोखरी निर्माण, बोटिङ, पिकनिक स्पट, पैदलमार्ग, खुला व्यायामशाला, पौडी पोखरी तथा विभिन्न जातजातिको पहिचान झल्किने संग्राहलय निर्माणजस्ता योजनाहरू अगाडि सारिएका छन् ।
सिमसार क्षेत्रमा माछापालनसमेत सुरु गरिएको छ, जसले स्थानीयलाई रोजगारीको अवसर प्रदान गरेको छ । वनका अध्यक्ष काबुलबहादुर मगरको सक्रियतामा वनले उल्लेखनीय प्रगति गर्दै “गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार” समेत प्राप्त गरिसकेको छ ।
यस वनको सिमसार क्षेत्रमा विगत ३ वर्षदेखि सञ्चालनमा ल्याइएको पौडी पोखरीले पर्यटन प्रवद्र्धनसँगै दिगो आम्दानीको स्रोतसमेत निर्माण गरेको छ । पौडी पोखरीमार्फत आर्थिक वर्ष २०८१÷०८२ मा ४८ लाखभन्दा बढी र सभाहलमार्फत ७ लाख रुपैयाँ आम्दानी भएको कम्पनीका प्रबन्धक रोहित बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा हल र पौडी पोखरीमार्फत ७० लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
सुन्दर सामुदायिक वन
प्राकृतिक र धार्मिक हिसाबले आफ्नो परिचय स्थापित गरिरहेको सुन्दर सामुदायिक वन अन्तर्गत रहेको सिमसार क्षेत्र पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । सिमसारसँगै जोडिएको जलकन्या पाथीभरा देवीको धार्मिक स्थलले यहाँ धार्मिक पर्यटनको सम्भावना समेत बढाएको छ । ८९.३१ हेक्टरमा फैलिएको यस सामुदायिक वनमा ३.७० हेक्टर क्षेत्रफलमा सिमसार क्षेत्र रहेको छ ।
यस सिमसार क्षेत्रमा माछापालक कृषकलाई वार्षिक रूपमा ठेक्का प्रक्रियामार्फत १ लाख ७० हजारदेखि २ लाख रुपैयाँसम्मको कोटेसन चल्ने गरेको थियो । हाल उपभोक्ताहरूको लगानी रहने गरी वनले माछापालनमा समेत लगानी सुरु गरेको सुन्दर सामुदायिक वनका अध्यक्ष भवानी तिम्सिनाले जानकारी दिनुभयो ।
सिरिजङ्गा धार्मिक वन
पथरी शनिश्चरेको धार्मिक आस्था, गहना र पर्यटन सम्भावना बोकेको वन हो सिरिजङ्गा धार्मिक वन । पथरी शनिश्चरे–१० मा अवस्थित यस वनमा लिम्बू समुदायसँग जोडिएका विभिन्न संस्कार तथा सांस्कृतिक गतिविधिहरू हुने गरेका छन् । १५.२१ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा ५ बिघा क्षेत्रफलमा सिमसार क्षेत्र पर्दछ ।
यस वनको पश्चिमतर्फ भुटानी शरणार्थी क्याम्प, उत्तरमा पूर्व–पश्चिम राजमार्ग, दक्षिणमा पथरी बहुमुखी क्याम्पस र पूर्वमा पथरी बजार अवस्थित छ । पथरी बजार क्षेत्रमा वनको जग्गा अतिक्रमण गरी बंगुरपालनका लागि निर्माण गरिएका खोरहरू पथरी शनिश्चरे नगरपालिकाले हटाएर वनको सीमाना लगाएको छ । साथै वनको सीमाना हुँदै बग्ने पथरी खोलाको संरक्षणमा समेत नगरपालिका जुटिरहेको छ ।
धार्मिक वनले राष्ट्रिय स्तरका कलाकारहरूको सहभागितामा प्रत्येक वर्ष चासोक तङ्नाम, उधौली चाड, परम्परागत धार्मिक गतिविधि, याग्राङ्सिङ, थेवासामा माङहिम (लारुम्बा) तथा याग्राङ्लिङ बोजुलाई मान्ने विविध सांस्कृतिक एवं धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएको वनका अध्यक्ष डम्बरबहादुर चोङवाङले जानकारी दिनुभयो ।
वनले ठेक्का प्रक्रियामार्फत व्यवस्थित खाजा घर सञ्चालनमा ल्याएको छ । जहाँ आगन्तुकहरूले विभिन्न परिकारको स्वाद लिन सक्ने व्यवस्था गरिएको छ । वनभित्र रहेको ५ बिघा क्षेत्रफलको सिमसारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो छ । यहाँ सञ्चालनमा ल्याइएको बोटिङमा रमाउन सयौँ पर्यटक आउने गरेका छन् । बोटिङ गरेबापत प्रति व्यक्ति ५० रुपैयाँ शुल्क लाग्ने गर्दछ । साथै सिमसार क्षेत्रमा माछापालन गरी उपभोक्ताहरूलाई रोजगारीको व्यवस्था समेत मिलाइएको छ ।
शान्ति सामुदायिक वन
पथरी शनिश्चरे–१ मा अवस्थित शान्ति सामुदायिक वन सिमसारमा मात्र सीमित छैन । यस वनमा पर्यटकहरूको आकर्षण बढाउने धेरै माध्यमहरू रहेका छन् । १७८.९२ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वनभित्र रहेको शान्ति भुल्के सिमसार क्षेत्रमा हाल पनि सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् ।
सिमसार क्षेत्रभित्र बाल उद्यान, कोलम्बस, विभिन्न जातजातिको भेषभूषामा तस्बिर खिच्ने स्थल, पिकनिक स्पट लगायतका गतिविधिहरू सञ्चालन भइरहेका छन् । सिमसार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणको कार्यसमेत अगाडि बढिरहेको छ ।
समूहले पोखरीको बीचभागमा आकर्षक कफी सप तथा रेस्टुरेन्ट निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइरहेको छ । शान्ति सामुदायिक वनले ३ हेक्टर क्षेत्रलाई विशेष पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाएको छ । पोखरीको बीचभागमा ५० मिटर गोलाइ भएको टापुमा निर्माण भइरहेको रेस्टुरेन्टमा आकाशे पुल र बोटिङ मार्फत पुग्न सकिनेछ ।
पर्यटकहरूको सुविधाका लागि दुईवटा वनभोज स्थल, टिकटघर, मुख्य गेट, पालेघर, शौचालय तथा ओभरहेड ड्याम लगायतका पूर्वाधारहरू निर्माण भइसकेका छन् ।
मनकामना सामुदायिक वन
पथरी शनिश्चरे–१ मा अवस्थित मनकामना सामुदायिक वनमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । ७१.६९ हेक्टर क्षेत्रफल रहेको यस वन क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने धेरै गतिविधिहरू सञ्चालनमा रहेका छन् । यस वनले १५ कठ्ठा क्षेत्रफलमा सिमसार संरक्षण गरी माछापालनसमेत गर्दै आएको छ ।
वनले पर्यटक आकर्षित गर्न ट्रि–हाउस, बाल उद्यान, टिकटक स्पट, सुन्दर तस्बिर खिच्ने स्थल तथा वनभोज स्थल सञ्चालनमा ल्याएको छ । यहाँको प्राकृतिक तथा पर्यटकीय सौन्दर्य अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।
मनकामना सामुदायिक वनभित्र सञ्चालनमा रहेको कटुसे होटलको स्वाद लिन मात्र पनि धेरै आगन्तुकहरू आउने गर्दछन् । वन सिमसार छेउमा सञ्चालनमा ल्याइएको उक्त होटलमा विभिन्न स्वादिष्ट परिकार पाइन्छन् । विशेषगरी कटुसे होटलको भट्टीमा पोलेको मासुको स्वाद निकै प्रसिद्ध रहेको छ ।
यसैगरी भुल्के पशुपति सामुदायिक वन तथा डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रका सिमसारहरूले पनि नगरको प्राकृतिक सौन्दर्यलाई थप समृद्ध बनाएका छन् ।
वन क्षेत्रको संरक्षण गर्नु भनेको वातावरण, जैविक विविधता र भावी पुस्ताको भविष्य सुरक्षित गर्नु हो । उचित संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार गर्न सके पथरी शनिश्चरेका सिमसार क्षेत्रहरू भविष्यमा कोशी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना देखिन्छ ।
सिमसार क्षेत्रमा हरिण, मृग, बदेल तथा हात्ती जस्ता वन्यजन्तुहरू आउने भएकाले वन्यजन्तु अवलोकनका लागि समेत आकर्षक गन्तव्य समेत पथरी शनिश्चरेलाई बनाउन सकिन्छ ।
प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र सामुदायिक एकताको सुन्दर संगम बनेको पथरी शनिश्चरे वास्तवमै “साझा फूलबारी” का रूपमा स्थापित हुँदै गएको छ ।

0 Comments:
Post a Comment