१४ जना अगुवाहरू सम्मानित

अनमोल समाचारदाता
उर्लाबारी ।
राष्ट्रिय एकता, लोकतन्त्र र सह–अस्तित्वको भावनालाई केन्द्रमा राख्दै नेपाली कांग्रेसका नेता विपी कोइरालाले २०३३ सालमा अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिको स्मरणमा मोरङको उर्लाबारीमा विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
विपी कोइरालाको विचार र योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ ५० औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर विपी अध्ययन प्रतिष्ठान उर्लाबारीले उर्लाबारी नगरलाई विभिन्न माध्यमबाट चिनाउन योगदान पु¥याएका १४ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा स्वास्थ्यतर्फ बालचन्द्र सुब्बा, खेलकुदतर्फ फुटबलमा सञ्जिव बुढाथोकी, विक्रम धिमाल, विजय माझी, करिना धिमाल, पुर्णिमा राई र रुपेश तामाङ, भलिबलतर्फ वीरबल थापा तथा क्रिकेटतर्फ सुयोग भट्टराई रहनुभएको छ ।
यस्तै उद्योगीतर्फ उर्लाबारीका पहिलो उद्योगपति तेजबहादुर थापा, व्यवसायीतर्फ उर्लाबारी व्यापार प्रवद्र्धन समितिका संस्थापक अध्यक्ष गोर्वद्धन शाक्य, तथा उर्लाबारी–९ मा व्यक्तिगत लगानीमा फुलबारी निर्माण गरी वडालाई हरियाली बनाउन योगदान पु¥याउने हर्क थेवे लिम्बु सम्मानित हुनुभएको हो ।
सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागो, प्रदेश सदस्य अर्जुन तुम्रोक, महासमिति सदस्य सिता कार्की र ललित अधिकारी, महाधिवेशन प्रतिनिधि गोमा नेपाल, मोरङ जिल्ला सदस्य चिन्तामणि पौडेल तथा उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बुलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फागोले देशको वर्तमान अवस्था र पार्टी १५ औँ महाधिवेशनको संघारमा रहेको सन्दर्भ उल्लेख गर्दै योग्यता, क्षमता र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा नेतृत्व चयन गर्न सके मात्र विपी कोइरालाले बसालेको मेलमिलापको नीति सार्थक हुने धारणा राख्नुभयो ।
प्रदेश सदस्य अर्जुन तुम्रोकले कांग्रेसको १५ औँ महाधिवेशनमा उठ्ने र उठाइने उम्मेदवारहरू भदौ २३ र २४ गतेको आन्दोलनले दिएको परिवर्तनको सन्देश बोकेका हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासमिति सदस्य सिता कार्की, ललित अधिकारी, महाधिवेशन प्रतिनिधि गोमा नेपाल, नगर सभापति सुरेन्द्र लिम्बु, नेपाली कांग्रेस उर्लाबारीका संस्थापक सभापति डा. नरेश थापा, उर्लाबारी–४ का सभापति प्रेम याख्खा, स्ववियु सभापति पोषणजङ्ग आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विपी अध्ययन प्रतिष्ठान उर्लाबारीका सभापति सोमप्रसाद तिम्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उप–सभापति ध्रुवचन्द्र पराजुलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य महिला उप–सभापति मेनुका लुईटेलले राख्नुभएको थियो। कार्यक्रम उर्लाबारी–४ स्थित वशिष्ट पार्टी प्यालेसमा बुधबार सम्पन्न भएको हो ।



About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment