जंगली हात्ती खेदाउन ड्रोनको प्रयोग


अनमोल समाचारदाता
पथरी शनिश्चरे । झापा, मोरङ, सुनसरी जिल्लामा जंगली हात्ती हुलका हुल पसेर वितण्डा मच्चाइरहेको छ । महिनाअघि भारतबाट आएका हात्ती नफर्किएपछि जनधनमा ठूलो क्षति भइरहेको छ । पूर्वी तराईका तीन जिल्लाका जनता यतिबेला त्रासमा छन् । हात्ती आउने डरले स्थानीय रातभरि जागराम बस्न वाध्य छन् । हात्ती खेदाउन आगो बाल्नेदेखि पटका पड्काउने, हो–हल्ला गर्ने काम स्थानीयले सधैं गरिरहेका छन् ।
स्थानीय तहले पनि हात्ती धपाउन प्रयास गरिरहेका छन् । आगो नियन्त्रण गर्ने दमकल समेत हात्ती धपाउन प्रयोग गर्ने गरिएको छ । यस्तै साइरनका माध्यमबाट धपाउने प्रयास पनि भइरहेको छ । तर दमकलको साइरनबाट समेत हात्ती भाग्न छोडेपछि बेलबारी नगरपालिकाले नयाँ अभ्यास गरेको छ । यस्तै भद्रपुर नगरपालिकामा यसअघि नै परीक्षण गरेको ड्रोनबाट हात्ती धपाउने प्रयास उसले गर्ने भएको हो । हात्ती धपाउन भनेर २४ वर्षका युवा अनिल प्रधान बेलबारीमा हात्ती धपाइरहेका छन् । साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी भएको प्रधानले सुझाएका छन् । उनले बाल्यअवस्थादेखि इलेक्ट्रिकको माध्यमबाट समस्या समाधान गर्ने गरेका थिए । उनी आफैँ पनि हात्ती पीडित हुन् । हात्तीले दुःख दिएपछि आफैँले विभिन्न देशबाट सामग्रीहरू ल्याएर ड्रोन बनाएका थिए । यसमा भद्रपुर नगरपालिकाले पनि सहयोग गरेको थियो ।
‘मेरो आफ्नै चिया बगान पनि छ । यसले गर्दा घर आसपासमा जहिले पनि जंगली हात्ती आउने र दुःख दिने गर्थे । यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा धेरै अध्ययन अनुसन्धान गरेँ । मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन् आवाजलाई ड्रोनमा जडान गरेको छु,’ उनले भने । उनले नजिकै लगेर ड्रोन उडाएपछि आवाज सुनेर हात्ती कराउँदै आफू जुन बाटो आएको थियो त्यही बाटो फर्कने गरेको बताए । ठूलो आवाज आउने साइरन जोडेकाले हात्तीको कान छेउमा लगाएर उठाएपछि उ ठूलो आवाजका निकालेर गर्जँदै जंगलतिर भाग्ने गरेको उनले अनुभव सुनाए । यसरी हुलका हुल हात्ती धपाउने सकिने उनको तर्क छ । रातको समयमा कतै हात्ती आयो भनेको खबर सुनेमा उनी ड्रोन बोकेर त्यतै जाने गरेका छन् । मध्यरातमा ४० किलोमिटर पर पुगेर पनि हात्ती धपाएको उनले सुनाए । उनको बाल्यकालदेखि नयाँ–नयाँ खोज अनुसन्धान गर्ने गर्थे । कम्प्यूटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा विशेष रुचि थियो उनको । पहिला–पहिला हात्ती धपाउन एक्लै हिड्ने गरेका प्रधानले अहिले भने समूह नै बनाएका छन् । 
नेपाली सेनाको इलेक्टोनिक्स सम्वन्धी काम उनको समूहले गरिरहेको छ । ‘हामीसँग २४ जनाको युवाको समूह छ । यी सबै दौतरी नै हुन्,’ उनले सुनाए । समूह बनाए पनि प्रधानले हात्ती धपाउने कामलाई व्यवसाय नै बनाएका भने छैनन् । ड्रोनहरूमा समस्या आइरहने भएकाले बनाउन लाग्ने खर्च मात्रै लिने गरेको उनले सुझाए । ‘हाम्रो पेशा व्यवसाय अर्कै छ,’ उनले थपे–‘सामाजिक उत्तरदायित्व सम्झेर काम गर्छौं । सामग्री फेर्नुप¥यो भने मात्रै पैसा लिन्छौं ।’ सन् २००३ ताका अमेरिकी पिस्कोर स्वयंसेवकहरूले हात्ती लखेट्ने मौरीपालन गरेका थिए । मौरीका घार हात्ती हिँड्ने गौंडामा राख्ने गरिएको थियो । त्यहाँ टर्च बालेपछि मौरी बिच्किएर हात्तीलाई टोक्ने र उनीहरू भाग्ने विश्वासका साथ लखेट्ने गरेका थिए । तर त्यो पूर्णरुपमा असफल भएको थियो । मौरीको आवाज सुनेपछि भाग्ने बूढापाकाहरूको विश्वास रहेको छ । झापामा हात्ती धपाउन व्यावसायिक मौरी पालन समेत गरिएको थियो । तर त्यो असफल भएको थियो । मौरीको आवाजको ड्रोनबाट हात्ती धपाउने प्रयास भने सफल भएको युवाहरूले सुझाए । 
जंगली हात्तीको आक्रमणबाट १ महिनामै झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको ज्यान गइसकेको छ । यी ३ जिल्लामा गत साउनयता ५० भन्दा बढी हात्ती आक्रमणका घटना भएका छन् । सो क्रममा ६ जना घाइतेसमेत भएका छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment