मुन्धुम पदमार्गमा पर्यटकको संख्या बढ्यो

अनमोल समाचारदाता
विराटनगर । भोजपुरबाट खोटाङतर्फ जाने परिचित मुन्दुम पदमार्गमा गएको तीन महिनामा नै एक लाख पर्यटकले भ्रमण गरिसकेका छन् । 
प्राकृतिक रुपमा सुन्दर मानिने स्थानबाट अग्ला हिमश्रृखंला, पहाडका अग्ला डाँडाहरू, तराईका समथर फाँटको मनोरम दृश्य अवलोकन गर्दै पदयात्रा गर्न पुग्ने पर्यटकको संख्या बढेको हो ।
पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सीमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट सुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिन्छ । भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरुवात भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्न सकिन्छ ।
मुन्दुम पदमार्गमा पर्यटकको संख्या बढेको टेम्के मैयुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जनाए । पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठूलठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठ लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पारेको छ । मुन्दुम पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धिी भएको छ । किरात राई, तामाङ, शेर्पा लगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाहरूले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटी लगायतको स्वादले पदमार्थमा पर्यटकलाई थप आनन्द दिने गरेको छ । उकालो र ओरालो हुँदै फैलिएको पदमार्गको यात्राबाट चारपाटे, नुप्से, म्यारापिक,  सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका सुन्दर हिमश्रृंखला देख्न सकिन्छ । किरात राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको हो । झण्डै ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्राम स्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुंगाको चौतारा रहेका छन् । किरात राईको संस्कृति झल्कने चिण्डो आकारको १५ वटा पोखरी निर्माण गरिसकिएको छ । तीन महिनाको अवधिमा यो पदमार्गमा १ लाख पर्यटकले भ्रमण गरेको भोजपुरको टेम्के मैयुम गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । पर्यटकको आगमन बढेपछि सो स्थानको व्यवस्थापनमा ध्यान दिइएको र घुम्न आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगत रूपमा अनुगमन गरिएको उनको भनाइ छ । पदमार्गमा आउने पर्यटकको संख्या बढेसँगै व्यवस्थापनमा ध्यान दिएको गाउँपालिकाले जनाएको छ । अनुगमन पश्चात् पर्यटकको सहजताका लागि भत्केको ठाउँमा बाटो मर्मत् गर्ने, सहज बास बस्नका लागि घरबास होमस्टे लाई व्यवस्थित गर्ने, पानीको व्यवस्थापन गर्नेलगायत काम गरिने उनको भनाइ थियो ।
प्राकृतिक सुन्दरताको मनमोहक दृश्य अवलोकन गर्न, हावापानीका हिसाबले हिमालमा जस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । 
आन्तरिक तथा बाह्य पर्यटक भित्राउन र पर्यटनलाई व्यावसायीकरण गर्न यो पदमार्गले सहयोग पु¥याउने गाउँपालिकाले जनाएको छ । टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । 
आउने पर्यटकहरूलाई लक्ष्य गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनको भनाइ थियो । पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र पनि निर्माण गरिएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment