अनमोल समाचारदाता
मोरङ । सिक्किममा बुधबार गएको बाढीमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । एक सय जना भन्दा बढी बेपत्ता भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
सरकारी स्रोतका अनुसार मंगन जिल्लाको चुङ्थाङबाट मानिसहरू बेपत्ता भएको बताइएको छ । गान्तोक जिल्लाको डिक्चु, सिङ्ताम र पाक्योङ जिल्लाको राङ्पोमा प्राकृतिक प्रकोपबाट २० हजार भन्दा बढी मानिस प्रभावित भएका छन् ।
राज्यका विभिन्न स्थानमा ३ हजार भन्दा बढी पर्यटक अलपत्र परेको आशंका गरिएको छ । चुङ्थाङको टिस्टा–३ बाँधमा काम गर्ने झण्डै १२–१४ कामदार अझै बाँधको सुरुङमै अलपत्र परेका छन् ।
यस्तैगरी, भारतीय सेनाले सिक्किममा बेपत्ता भएका मानिसहरूका परिवारका लागि सेना सहित तीन वटा हेल्पलाइनहरू सुरु गरेको छ । हराएका २३ सैनिक मध्ये एक जनाको बुधबार उदार गरिएको छ । बाँकी अझै बेपत्ता रहेको जनाइएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले यो महत्वपूर्ण समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधरणलाई आग्रह
गरेका छन् । सिक्किम सरकारले खाँचोमा परेकाहरूलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू पनि स्थापना गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मुख्यमन्त्री तामाङलाई राज्यको अवस्थाको बारेमा जानकारी लिनको लागि बुधबार कुरा गरे, र उनलाई सबै सम्भव सहयोग गर्ने आश्वासन दिएको बताइएको छ । सिक्किमका मुख्य सचिव वीबी पाठाले मिडियालाई बताएअनुसार, मंगलबार राति १०.४२ बजे लोनाक तालमा बादल फुटेको थियो । त्यसपछि तालले आफ्नो तटबन्ध तोडेर टिस्टा नदीतिर बाटो बनायो । जसले गर्दा टिस्टा बेसिनका विभिन्न भागहरूमा पानीको सतह ह्वात्तै बढ्यो । टिस्टा–३ ड्याम भत्किएपछि पानीको सतह नियन्त्रण भन्दा माथि गएको अधिकारीहरूको दावी छ ।
मुख्य सचिव पाठाले हालसम्म २२ सैनिक सहित १०४ जना बेपत्ता भएको जानकारी दिएका छन् ।
राजमार्गको छेउमा पार्किङ गरी राखिएको सेनाको गाडी हिलोमा डुबेको छ । अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको पाठाले बताएको छ । बाढीमा फसेका, हराएका तथा अलपत्र परेकाहरूको उदारका लागि भारतको सैन्य तथा अर्धसैन्य बलका जवानहरू तैनाथ भइसकेको जनाइएको छ ।
पश्चिम बंगालको सिलगुडीबाट बेली ब्रिज सहितका आवश्यक वस्तुहरू लिएर रतीय सेना र राष्ट्रिय राजमार्ग र पूर्वाधार विकास निगम लिमिटेडका जनशक्ति बाढी प्रभावित क्षेत्रमा पुगिसकेका मुख्य सचिवले पाठाले जानकारी गराए । उनका अनुसार, बाढीले सबैभन्दा बढी क्षति व्यहोरेका सिंगताम, राङ्पो, डिक्चु र आदर्श गाउँमा राज्य सरकारले १८ वटा राहत शिविर स्थापना गरेको छ । चुङथाङसँग सम्पर्क नहुँदा भारतीय सेना र अन्य अर्धसैनिकले त्यहाँ राहत शिविर स्थापना गरिरहेका छन् । उत्तरपश्चिम सिक्किमको दक्षिणी ल्होनाक तालमा बुधबार बिहान बादल फुटेको देखिएको थियो । गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुलबाट टिस्टा नदीमा बाढी पसेको गान्तोक जिल्ला प्रशासनले बताएको छ । बालुटार गाउँको अर्को जोड्ने पुल पनि बिहान ४ बजेतिर बगेको छ । विपद्का कारण १४ वटा पुल भत्किएका छन् । जस मध्ये नौ वटा सीमा सडक संगठन (बीआरओ) को जिम्मेवारीमा छन् भने बाँकी पाँचवटा राज्य सरकारको मातहतमा छन् ।
गान्तोक र सिलिगुडी जोड्ने राष्ट्रिय राजमार्ग १० लिखुवीर–सिजोरा स्ट्रेच नजिकै पुरै बगेको छ । टिस्टा नदीमा पानीको बहाव घटेपछि तत्काल मर्मतको काम सुरु हुने त्यहाँका अधिकारीहरूले बताएका छन् ।

0 Comments:
Post a Comment