महानगरपालिकाको अवैध संरचना हटाउने अभियान


अनमोल समाचारदाता
मोरङ । मंसिर २५

विराटनगर महानगरपालिकाले बजारको मुख्य क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान मंसिर २२ गतेदेखि सुरुवात गरेको छ ।

अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको हो । विराटनगर–९ जलजला रोडमा अवस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुशी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो । 

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजर सहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याक लगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभाबी झुन्ड्याइएका होर्डिङ बोर्ड समेत हटाएको थियो ।

महानगरपालिकालाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियान अन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी गराए । 
कोइरालाले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको प्रष्ट पारे । ‘परिवर्तन गर्न आफैँबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरितार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका हौं,’ उनले भने–‘विराटनगर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो । यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ । 

विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु ।’ महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले सुझाए ।

अभियान अन्तर्गत मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित बि प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment