बैंकको चर्को ब्याजदरको विरोध




अनमोल समाचारदाता
विराटनगर ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर तिव्र रुपमा बढाउँदै लगेपछि नेपाल उद्योग वाणिज्य महासंघ सम्वद्ध जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले आन्दोलनमा उत्रिन नेतृत्वलाई दवाव सृजना गर्ने जनाएका छन् । आन्दोलनका लागि आफूहरू तयार रहेको जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले बताएका हुन् ।

बैंक तथा वित्तीय क्षेत्रका कारण उद्योग व्यवसायमा प्रतिकूल असर पर्न थालेको भन्दै बिहीबार विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आन्दोलनको तयारी गर्न दवाव दिएका हुन् ।

चर्को ब्याजदर विरुद्ध आन्दोलनमा उत्रिन आफूहरू तयार रहेको भन्दै उनीहरूले महासंघले तत्कालै धारणा सार्वजनिक गरी आन्दोलनको तयारी सुरू गर्न आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले एक अंकको ब्याजदर कायम गर्ने यसअघिको सहमति विपरीत अहिले १८ प्रतिशतसम्म ब्याजदर कायम गर्न खोजेकोमा महासंघ सम्वद्ध उद्योगी व्यवसायीहरूले असन्तुष्टी पोखेका छन् ।

आर्थिक साझेदारका रुपमा रहेका बैंक तथा वित्तीय संस्थाको व्यवहारले द्वन्द्व सृजना गर्दै लगेको भन्दै निर्णायक आन्दोलनमा जानुपर्ने कुरा नेतृत्व समक्ष सुझाव दिएका छन् । आयातमुखी अर्थतन्त्र भएको मुलुकमा उद्योगी व्यवसायीहरूलाई नै लक्षित गरेर राष्ट्र बैंकले समेत भेदभावपूर्ण नीति अघि सारेको र अहिले ३० प्रतिशत उद्योगहरूले मात्रै क्षमता अनुसार उत्पादन गरिरहेको अवस्थामा बैंकले ब्याजदर बढाउँदै लगेर थप पीडित बनाएको उनीहरूले गुनासो गरे । अब उद्योगको चाबी सरकारलाई बुझाएर सडक आन्दोलनमा उत्रिनु पर्ने उनीहरूले सुझाए ।

उद्योगी व्यवसायीहरूको मुख्य आर्थिक साझेदार रहेको बैंक सधैभरी नाफामा मात्रै जाने तर उद्योग व्यवसाय क्षेत्रले भने अनेकौं समस्या भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले सुझाए । उनले साझेदारहरूबीच द्वन्द्व बढ्नु राम्रो संकेत नभएको भन्दै सरकारले जहिले पनि उद्योगी व्यवसायीहरूको भावनासँग खेलवाड गर्दै आइरहेको बताए । पटक–पटक निर्णय गर्ने र सच्याउने कुराले राज्यको नीति नै असफल भइरहेको उनले टिप्पणी गरे । विगतमा बजेटमा भएका गल्ती सच्याउन नपाउँदै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएकोप्रति उनले चिन्ता व्यक्त गरे । सरकारले उद्योग र व्यवसायलाई हेर्ने दृष्टिकोणमा बदलाव नभएका कारण पाँच वर्षयता निर्यातमा ३५ प्रतिशतले गिरावट आएको प्याकुरेलले दाबी गरे ।

राष्ट्र बैंकले समेत आफ्नै नीति कार्यान्वयन गर्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । साथै निजी क्षेत्र पनि सच्चिएर अघि बढ्नु पर्ने सुझाव दिए । एउटा क्षेत्रका लागि लिएको ऋण अर्को क्षेत्रमा खर्च भइरहेकोमा राष्ट्र बैंकले जहिले पनि निजी क्षेत्रलाई औंला तेस्र्याउने गरेकोप्रति निजी क्षेत्रपनि सजग रहनुपर्ने उनले बताए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले बैंकहरूले व्यवसायीहरूलाई आतंकित पारेको बताए । साथै गभर्नर र सरकारबीचको तनावको परिणामले निजी क्षेत्र नै शिकार भएको उनले बताए । एकल अंकको ब्याजदर कायम गर्न आन्दोलनको विकल्प नभएको रिजालले धारणा राखे ।

झापा दमक उद्योग वाणिज्य संघका सदस्य मोहन ढकालले निजी क्षेत्र सम्वद्ध केही ठूला व्यवसायीहरू नै ब्याजदर बृद्धिका विषयमा मौन रहेका कारण साना व्यवसायीहरू प्रताडित बनेको आरोप लगाए । बैंकहरू बीचको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गरी पैसा हुनेहरूले बैंकमा पैसा बचत गरेर राख्नुको साटो उद्यमशीलतामा लगानी बढाउन अभिप्रेरित गर्नुपर्ने सुझाव दिए ।

इनरूवा उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सदस्य वीरेन्द्र साहले ब्याजदरका साथै बैंकहरूले धितोजमानीको लिलामी प्रक्रियालाई समेत कस्दै लगेकोप्रति चिन्ता सुझाए । यस्तै उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पीताम्बर खड्गीले बैंकहरूबाट उद्योगी व्यवसायीहरूलाई मित्रवत् व्यवहार नभएको बताए । उनले बैंकहरूसँग पैसा भएको बेलामा उद्योगी व्यवसायीहरूको घरैमा गएर ऋण दिने, कागजपत्रसमेत आफैं मिलाइदिने गरेको कुरा नभुल्न बैंकहरूलाई चेतावनी दिए । 

अहिले आएर ऋणको साँवाब्याज तिर्नका लागि केही समय माग्दा बैंकहरूले राम्रो व्यवहार नदेखाएको गुनासो गरे । यस्तो अवस्थाले व्यवसायीहरू विस्थापित हुँदै जाने र त्यसको दीर्घकालीन असर बैंकहरूलाई नै हुनेतर्फ समेत सोच्न आग्रह गरे । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले साना व्यवसायीको समस्यालाई धेरै सुन्नका लागि महासंघ नेतृत्वलाई आग्रह गरे । जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट आएको सुझावलाई सम्बोधन गर्दै महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उद्योग व्यवसाय गर्नेहरू टिक्नै नसक्ने गरी ब्याजदर बढेको बताए । उनले देशव्यापी रूपमा उद्योगी व्यवसायीहरू एक भएर आवाज उठाउनु पर्ने र त्यसको नेतृत्व महासंघले गर्ने आश्वासन दिए । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment