मोरङ ३ मा ५१ जना उम्मेदवार, जिल्लाभर २ सय २६ को मनोनयन


अनमोल समाचारदाता
मोरङ । ६ वटा प्रतिनिधिसभा र १२ प्रदेशसभा क्षेत्रमा २ सय २६ जनाले मनोनयन दर्ता गरेको मोरङमा ११ जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन आयोगले बुधबार १० बजदेखि अपरान्ह १ बजेसम्म मनोनयन फिर्ताको समय तोकेको थियो । सो समयावधिभित्र प्रतिनिधिसभातर्फ दुई स्वतन्त्र सहित ३ जना र प्रदेशसभाका ६ स्वतन्त्र सहित ८ जनाले उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जानकारी दिएको छ ।

मोरङमा प्रतिनिधिसभातर्फ १ सय ८ र प्रदेशसभामा १ सय १८ जनाको उम्मेदवारी परेको थियो । ११ जनाले मनोनयन फिर्ता लिएपछि मोरङमा उम्मेद्वारको संख्या २ सय १५ कायम भएको जानकारी दिएको छ । सबैभन्दा धेरै क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा ५३ जनाले उम्मेद्वारी दिएका थिए । जहाँ प्रतिनिधिसभातर्फ कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार मात्रै १९ जना छन् ।

त्यहाँ गठबन्धनबाट नेपाली कांग्रेसका महासमिति सदस्य रहेका नोवेल मेडिकल कलेज सञ्चालक सुनिल शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल चुनावमा आमने सामने हुँदैछन् । 

प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार सुजता थापा, क्षेत्र नं ४ मा गोकुलप्रसाद पोखरेल र क्षेत्र नं ६ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजु मण्डल राजवंशीले उम्मेदवारी फिर्ता लिएका छन् । राजवंशीको उम्मेदवारी फिर्ता गराउन लोसपा मोरङका अध्यक्ष मोहम्मद कादिर आफैं खटेका थिए । कांग्रेसका उम्मेदवार शेखर कोइरालाको पहलमा उनले राजवंशीले नाम फिर्ता लिएको जनाइएको छ । यस्तै लोसपा कांग्रेससँगको गठबन्धनमा सामेल छ ।

जिल्लाका १२ वटा प्रदेशसभा क्षेत्र मध्ये क्षेत्र नं (१) तर्फका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् । प्रदेशसभामा उम्मेदवारी फिर्ता लिने सबै उम्मेदवार प्रदेशसभातर्फ क्षेत्र नं (२) का मात्रै हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभातर्फ मोरङ–१ (२) मा एमालेका बागी उम्मेदवार डिल्ली शर्मा अधिकारीले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर २ मा ३ स्वतन्त्रसहित १३ जना, प्रदेशसभा २ (१) मा ४ स्वतन्त्रसहित १२ र २ (२) मा २ स्वतन्त्र सहित ९ जनाले उम्मेदवारी दिएकोमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएको जनाइएको छ । क्षेत्र नं ३ को प्रदेशसभा (२) माओवादी केन्द्रबाट स्वतन्त्र उम्मेदवारी दिएका तिलकप्रसाद राई र अर्का स्वतन्त्र उम्मेदवार कञ्चनकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । राईले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एस) का लक्ष्मीकुमार श्रेष्ठ विरुद्ध उम्मेदवारी दर्ता गरेका थिए ।

यसैगरी प्रदेशसभामै क्षेत्र नं ४ (२) मा कांग्रेसका उम्मेदवार विरुद्ध गठबन्धनकै दल नेकपा (एस) बाट उम्मेदवारी दिएका पोलिटव्यूरो सदस्य महेश रेग्मी उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसको भागमा परेको उक्त क्षेत्रमा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली मैदानमा उत्रिएका छन् ।

क्षेत्र नं ५ (२) मा जसपाबाट भर्खरैमात्र एमाले प्रवेश गरेका भूराज राईले स्वतन्त्र उम्मेदवारी दिएकोमा उनले पनि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । उनले एमालेसँग असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment