अनमोल समाचारदाता
मोरङ । व्याजदरमा भएको चर्को वृद्धिले उद्योग सञ्चालन गर्नै एकदमै मुश्किल परेको अवस्थामा पुगेको बताउँदै विराटनगरका उद्योगीहरूले यही अवस्था कायम रहे आफ्नो जायजेथा सरकारलाई जिम्मा लगाउनुपर्ने स्थिति सृजना भएको बताएका छन् ।
उद्योगीहरूले वाणिज्य बैंकहरूले बढाएको ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने माग गर्दै उद्योगीहरुले अन्यथा सबै जायजेथा सहित उद्योग सरकारलाई जिम्मा लगाउनुपर्ने अवस्था छिटै आउने उनीहरुको भनाइ छ । बैंकरहरूको लडाइँको असर मुलुकका उद्योग धन्दाहरुमा परेको बताउँदै उनीहरुले उद्यमशीलता नै ध्वस्त हुने र बसीबसी ब्याज खाने प्रवृत्ति प्रोत्साहित गर्ने काम भएको उनीहरूको भनाइ छ ।
‘लगानीयोग्य पूँजीको अभावमा उद्योग ÷ व्यवसायहरू आ – आफ्ना क्षमता अनुरुप कार्य गर्न असमर्थ हुँदै गएको दुरावस्था देखा परेको छ’, शुक्रबार पत्रकारहरूसँग मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘विगत ६ महिना मै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधिमै भद्र सहमति भङ्ग गर्दै बैंकहरूले आफूखुशी ४ प्रतिशतसम्म स्प्रेड दर कायम गरेका छन् । यसबाट कोभिड पश्चात् विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको छ ।’
उनका अनुसार यसले औद्योगिक क्षेत्रमा असर पु¥याउने जोखिम उच्च भएको छ । ‘साउनमा मात्रै ९ सय करोड मुनाफा बैंकहरूले कमाएको बुझिएको छ । तर, उद्योग व्यवसाय र उपभोक्ताहरूको नाजुक अवस्था प्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिनाले उद्योगी÷ व्यवसायीहरू हतोत्साहित भइरहेका छन्’, अध्यक्ष रिजालले भने ‘नेपाल राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरू समेत औद्योगिक÷ व्यवसायिक वातावरणका लागि प्रतिकूल रहन गई प्रत्यक्ष प्रभाव पर्ने भएकाले त्यसलाई तत्कालै सुधार गर्न तथा चालू पूँजी कर्जालाई पारदर्शी एवं एकरूपता कायम गर्न माग गर्दछौं ।’
उद्योगीहरूले एकल अंकको व्याजदर कायम गर्नु पर्ने , औद्योगिक / व्यवसायिक प्रयोजनका कर्जाको व्याजदर फरक गरिनुपर्ने, संस्थागत व्याज दर कम गरिनु पर्ने लगायतका माग निरन्तर गर्दै आएका छन् । हालको अवस्थाले निरन्तरता पाए मुलुकको आर्थिक गतिविधिहरू संचालन गर्न कठिन हुने र अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निश्चित रहेको उल्लेख गर्दै संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले यस्तो अवस्था निरन्तर रहे उद्योग चलाउन नसकिने बताए ।
‘त्यो बेला सरकारले हाम्रो जायजेथा लिइदिए हुन्छ’, उद्योगी समेत रहेका उनले भने ‘हामी पनि बसीबसी ब्याज खाएर ढुक्कले बस्छौं ।’ उद्योगी अनुपम राठीले कर्जाको व्याजदर वृद्धि हुँदा तत्काल लगानीकर्तालाई असर परे पनि अन्ततः यसको मार उपभोक्ता मै पर्ने बताए ।
उद्योगीहरूले सरकार, बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्वन्धित निकायहरूलाई मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर भई नेपाली उद्यमी, व्यवसायी र उपभोक्ताहरूको हक , हित एवं सुरक्षार्थ आ–आफ्नो स्तरबाट जिम्मेवारीपूर्वक तत्काल ठोस कदम चाल्न माग गरिरहेका छन् ।

0 Comments:
Post a Comment