उर्लाबारी मंगलबारेमा रहेको इलाका प्रशासन कार्यालय मोरङ सदरमुकाम बाहिरको सबैभन्दा ठुलो प्रशासनिक अड्डा हो ।
राहदानी, नागरिक्ता, राष्ट्रिय परिचयपत्र वितरण हुने यस निकायमा यतिबेला मतदाता नामावली संकलनपनि हुने गरेको छ । पुर्वोत्तर मोरङको साविक १८ वटा गाविसका जनतालाई सेवा प्रवाह दिने यो प्रशासन कार्यालय यतिबेला बिचौलियाको अखाडा भएको छ । सेवाग्राही आफैं जाँदा कर्मचारीले काम अलमल्याउने तर बिचौलियामार्फत आए सहज सेवा पाउने वातावरण बनाएका छन् ।
सेवाग्राहीका अनुसार बिचौलियाले लिने अतिरिक्त रकमबाट प्रशासन कार्यालयका सबै कर्मचारीका लागि निश्चित रकम छुट्याइएको हुन्छ । अतिरिक्त आर्थिक उपार्जजनको लोभमा कार्यालयलाई बिचौलियाको अखाडा बनाइएको छ ।
‘ऐजेन्ट’ भनिने बिचौलियाको हातबाट गएको फाइल कर्मचारीले सजिलै अगाडि बढाउछन् । सेवाग्राहीले लैजाँदा सुनुवाइ नै हुँदैन। कुनैपनि टेबुलमा वा कुनै कर्मचारीको हातमा पैसाको अतिरिक्त लेनदेन भने हुँदैन । सुरुमै ‘यति रुपैयाँ खर्च लाग्छ,’ भन्दै बिचौलियाले सेवाग्राहीसँग एकमुष्ठ रकम तय गर्छन् । कार्यालय परिसरमा र बाहिर दर्जनौं बिचौलिया छन् ।
उनीहरू कार्यालयबाट मान्यताप्राप्त वा अन्य कुनै निकायबाट इजाजतप्राप्त अभिकर्ता भने होइनन् । एक जना सेवाग्राहीको फाराम भर्दा २५ सयसम्म रुपैयाँ लिएपछि चाँडै नै परिचयपत्र निस्कने गर्छ । कार्यालयमा परिचयपत्र बनाउनका लागि दैनिक सयौंको लाइन लाग्ने गरेको छ । प्रशासन कार्यालयमा यसअघि पनि विचौलिया र कर्मचारी मिलेर काम गर्ने गरेको विषयबारे कार्यालय प्रमुखलाई पटकपटक ध्यानाकर्षण समेत गराइएको थियो । स्थानीयवासीले भेटेर,सामाजिक सञ्जाल मार्फत् र एच नेपाल हिमालय फाउन्डेसनले कार्यालय प्रमुख सेवा प्रवाह र विचौलिया हटाउनका लागि पटक पटक आग्रह समेत गरेका थिए । तर, यस विषयमा कार्यालयका कर्मचारीहरु नै सेटिङमा लिप्त भएपछि अझैसम्म सुनुवाई भएको छैन । दलाल र कर्मचारीले जति घुस खाएपनि, अवैध तरिकाले सम्पत्ति जोडे पनि, भ्रष्ट्राचार गरे पनि मातहतका निकायले कारबाही गर्न सकेको छैन ।

0 Comments:
Post a Comment