स्वास्थ्य बिमा गरेकाहरुले नै पाएनन् सुविधा


अनमोल समाचारदाता
विराटनगर । मोरङको रतुवामाई –८ की विष्णुमाया बस्नेतको उपचार विराट मेडिकल कलेज बुढीगंगामा भइरहेको छ । 

गत साउन १ गते आइतबार बेहोस भएपछि उनलाई अस्पताल ल्याइयो । अस्पताल भर्ना गरेको तीन दिनपछि उनको होस खुल्यो । अस्पतालले डिस्चार्जको तयारी सुरु गरेपछि बस्नेतका छोरा चिरञ्जीवी अस्पतालको काउण्टरमा स्वास्थ्य बिमा कार्ड सहित पुगे । 

अस्पतालले बिमा कार्डले काम नगर्ने भन्दै नगद जम्मा गर्नु भनेपछि उनी छाँगाबाट खसेझैं भए । उनले भने,’ बिमा छ भनेर अस्पताल भर्ना गरियो । अहिले अस्पतालले बिमा कार्डले काम गर्दैन सबै नगद जम्मा गर्नुभन्छ ।’ खर्च व्यवस्थापन नहुँदा समस्या भएको उनले सुनाए । 

सुनसरीको दुहवी–५ का लालकृष्ण गौतम गत असार २४ गते इटहरीको खनारमा मोटरसाइकल दुर्घटनामा परे । उनलाई पनि परिवारले उपचारका लागि विराट मेडिकल ल्यायो । स्वास्थ्य बिमा कार्डका आधारमा उपचार खर्च व्यवस्थापन गर्न अस्पताल आएको गौतमकी श्रीमती मेनुकाले भनिन् । 

२० दिन अस्पताल राखेर खुट्टाको शल्यक्रिया गरेपछि बिरामीको स्वास्थ्य अवस्थामा सुधार आए पनि मेनुकालाई भने अस्पताललाई तिर्ने खर्च कहाँबाट जुटाउने समस्या छ । उनी भन्छिन्, ‘अस्पतालले असार ३२ गतेसम्म भर्ना भएका बिरामीले बिमा कार्यक्रम अन्तर्गतको सुविधा पाउँछन् भन्यो । डिस्चार्ज गर्ने बेलामा सबै उपचार खर्च आफैँ तिर्नुपर्छ भन्छन् ।’ 

विष्णुमाया र लालकृष्ण जस्ता प्रदेश १ का उपचाररत १०९ जना बिरामीका परिवारलाई अहिले अस्पतालको उपचार खर्च व्यवस्थापनमा समस्यामा भएको छ। स्वास्थ्य बिमा गरेर उपचाररत विराट मेडिकल कलेजमा ८, नोवेल मेडिकल कलेज विराटनगरमा ७३ र बीएण्डसी अस्पतालका २८ जनाको कार्डले काम नगरेपछि समस्या भएको छ । प्रदेश १ का विराट, नोवेल र बीएण्डसीले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने सूचना निकालेसँगै स्वास्थ्य बिमा बोर्डले उनीहरुको बिलिङ सफ्टवेयर गत मंगलबार बिहान १० बजेदेखि बन्द गरिदिएको छ । 

बिलिङ सफ्टवेयर बन्द भएका कारण बिमा कार्डको अवस्थाबारे जानकारी लिन समस्या भएको अस्पतालहरुले बताएका छन्। मंगलबार बिहान १० बजेपछिका विरामीको स्वास्थ्य बिमा कार्डमा पैसा भए÷नभएको, कार्ड एक्टिभ भए/नभएकोबारे जानकारी नै नभएपछि उपचारवापतको पैसा माग्नुको विकल्प नै नभएको विराट मेडिकल कलेजका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले सुनाए । 

उनका अनुसार सफ्टवेयर बन्द भएपछि कार्डको अवस्था पत्ता लगाउन सकिएन। उनले भने, ’चाहेर पनि सेवा दिन सकेनौं।’ बिमा बोर्डले कुनै जानकारी बिना नै सफ्टवेयर बन्द गरिदिएको उनले बताए । उनका अनुसार बोर्डबाट पाउनुपर्ने ४६ करोड भुक्तानी नपाए पनि सेवा बन्द गरिएको थिएन । देवकोटाले भने, ’सकेको सेवा दिइरहेका थियौं ।’ बिमा बोर्डलाई बारम्बार जानकारी गराउँदा पनि भुक्तानी नआएपछि औषधी जाँच लगायतका सेवाहरु क्रमिकरुपमा घटाउँदै लगिएको उनले बताए ।

अस्पतालले सेवा पूर्णरुपमा बन्द भने नगरेको उनको भनाई छ । साउन १ देखि बिमाको सेवा गर्न नसक्ने जानकारी गराए पनि पूर्णरुपमा बन्द भने गरी नसकेको उनको भनाई छ । उनले भने, ’सेवा अहिलेपनि हामीले 
रोकेका छैनौं, सञ्चालनमै छ ।’ 

स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका ३ वटा अस्पतालमा उपचाररत बिरामीले भुक्तानी पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । विराट, नोवेल र वी एण्ड सीमा उपचाररत १०९ विरामीका बारेमा बोर्डमा जानकारी भइसकेको स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का संयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment