प्रकाशकीय : अनमोलमणि साप्ताहिकको यो कष्टसाध्य यात्रा !

विश्व परिवेशसँगै मानिसका रुचिहरु छिनछिनमै बदलिने गरेका छन् । आजको डिजिटल युगमा छापा माध्यम टिकाइराख्न सक्नु आफैंमा कठिन कार्य हो । 

धेरै पत्रपत्रिकाहरु कि त बन्द भएका छन् कि अनलाइन माध्यममा फड्को मारेका छन् । पत्रिकाको मुद्रण कार्य सर्वत्र खुम्चिरहेको बेला हामी टिकिरहेका छौं अर्थात अनमोलमणि साप्ताहिक अविचलित छ । 

अनमोलमणि साप्ताहिक १५ वर्ष पार गर्दै १६औं वर्ष प्रवेश गरेको जानकारी गराउन पाउँदा बडो हर्षित छौं । २०६४ साउन १ गते अनमोलमणिले नेपाली सञ्चार जगतमा पहिलो पाइला चालेको थियो । सूचनामाथि आम नागरिकको सहज पहुँज स्थापित गर्दै मुलुकको समृद्धि यात्रामा सारथी बन्ने प्रण अनमोलमणिले आज पनि छोडेको छैन । 

यो १५ वर्षे यात्रामा देशले अपनाएको भोगेको शासन प्रणाली र त्यस क्रममा सिर्जित सबै प्रकृतिका सजिला अप्ठ्याराहरुको अनमोलमणि साक्षी पनि हो । लोकतन्त्र, नागरिक स्वतन्त्रता र सामाजिक रुपान्तरणको यात्रामा यस पत्रिका सधैँ अग्रपंक्तिमा खडा भएको तथ्य छिप्न सक्दैन । यसबारे लामो वृतान्तको जरूरी पनि नरहला । किनभने, आम नागरिकसँग अनमोलमणिले सधैं काँधमा काँध मिलाउने कुरामा कुनै सम्झौता गरेको छैन, गर्ने पनि छैन । तर, हामी हिडेको बाटो सजिलो पनि छैन । 

मुलुकको सर्वोपरी हित र नागरिक कल्याणको विषयमा बिना सम्झौता अगाडि बढ्ने क्रममा अनमोलमणिले निक्कै अक्करिलो यात्रा पार गर्नुपरेको छ । डेढ दशकको यात्रामा थुप्रै उतारचढाबको सामना गर्नुपरेको छ – अनमोलमणिले । 

विकृति, विसंगति, भ्रष्टाचार र कुशासनविरुद्ध लड्न पक्कै सजिलो छैन, हिजोपनि थिएन । अझ सानो लगानीबाट ठूलो उद्देश्यसाथ अगाडि बढेको पाइलाले मूलबाटो भेटाउन निकै मुस्किल थियो, अझै चुनौती छन् । बाटो चौडा छैनन्, अक्करिलो कच्ची गोरेटो भएर हिड्नु भनेकै एउटा पाइलामा संघर्ष र अर्कोमा अदम्य साहसको जरुरी थियो । तर, यी सर्त पालना गर्दै हामीले १५ वर्षे मूल गोरेटो बनाउन सफल भएका छौं । दुःख कष्ट त भोगेकै छौं , कहिल्यै हरेस खाएनौं ।

यी कष्टसाध्य निरन्तरताको पछाडि आम पाठक वर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको अतुलनीय योगदान छ । आज पनि ती अटुट साथ छुटेको छैन । त्यसैले नै हाम्रो परिचय स्थानीय तहको ‘क’ वर्गको साप्ताहिक पत्रिकाका रुपमा स्थापित छ । अनमोलमणिप्रति तपाईहरुको अटुट विश्वास र भरोसालाई हामीले पनि कहिल्यै निराशामा नबदल्ने प्रयास गरिरहेकै छौं । 

विश्वसनीयता, निष्पक्षता र सटिकता सञ्चार जगतको सौन्दर्य नै हो । यही सौन्दर्य कायम राखेर हामीले खेलेको भूमिकाप्रति समाजका सबै तहबाट पाएको साथले हाम्रो यात्रा जहिले पनि गर्विलो बन्यो । मुलुकको विकासका लागि हरेक पक्षको भूमिका उत्तिकै हुन्छ । त्यसैले पनि सबै पक्षका विषयहरु हाम्रा समाचार तथा कार्यक्रमहरुमा प्राथमिकतामा परे । 

राजनीतिक मात्र नभई सामाजिक, सांस्कृतिक, आध्यात्मिक गतिविधि हाम्रो नजरमा जहिले पनि सम्मानका साथ पर्दै गर्दा स्वास्थ्य, संगीत, कला, साहित्य, खेलकुद, चलचित्र क्षेत्रलाई पनि उत्तिकै महत्व दिने गरेका छौं । हाम्रो यही प्रस्तुति र पाठकको अपार मायाले नै सबै तहमा पुगेका छौँ । 

पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरू प्रति अनमोलमणि अझै बढी जिम्मेवार, भरोसायोग्य र इमानका साथ प्रस्तुत हुने हामी प्रण गर्दछौं । विश्वास छ, तपाई–हाम्रो विश्वास, साथ र सम्बन्धमा कतिपनि तलमाथि हुने छैन । लोकतान्त्रिक मूल्य मान्यता, नागरिक स्वतन्त्रता र समृद्ध समाज निर्माणमा हाम्रो प्रतिबद्धता अझ बलियो हुनेछ । धन्यवाद !

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment