अनमोल समाचारदाता
उर्लाबारी । वि.सं. २०७१ जेठ ३ गते नै निर्माण सम्पन्न हुनुपर्ने उर्लाबारी–मधुमल्ला सडक हालसम्म निर्माण छैन ।
ठेकेदार कम्पनीले २०६९ जेठ २४ गते ठेक्का कबुल गरेर सम्झौता गरेको १२ दशमलव ४ किलोमिटर लामो सो सडक ९ वर्ष बित्दा पनि सम्पन्न नभएको हो ।
ठेक्का लगाउने सडक डिभिजन कार्यालय विराटनगरले ठेकेदार कम्पनीलाई ६० प्रतिशत रकम भने भुक्तानी गरिसकेको बताइएको छ । ठेकेदारलाई अनुकूल हुनेगरी म्याद थप्दै सडक अलपत्र पारेको कार्यालयले हालसम्म कारवाहीका लागि ठोस कदम चालेको छैन ।
सडक डिभिजन कार्यालयका तत्कालीन प्रमुख विनोदकुमार मौवारको पालामा ठेकेदार कम्पनी प्रेरा, ज्योति जेभीले ८ करोड ९८ लाख २९ हजार १७ रुपैयाँमा सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो । सो सडक निर्माणका लागि सडक डिभिजन कार्यालयले भने १६ करोड ७४ लाख रूपैयाँको स्टिमेट तयार पारिसकेको थियो । तत्कालीन कार्यालय प्रमुख मौवारपछि हाल छैठौं कार्यालय प्रमुख भएर आएका डिभिजन प्रमुख इञ्जिनियर सुदर्शन कार्कीले पटक–पटक पत्र काट्दा पनि निर्माण व्यवसायीले काम नगरेको बताए । अब सम्झौता रद्द गरी ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।
निर्माण व्यवसायी प्रेरा, ज्योति जेभीले कामै सम्पन्न नगरेपछि उक्त सडक अहिलेसम्म अलपत्र परेको छ । प्रेरा निर्माण सेवा प्रा.लि. चितवनको नारायणगढमा अवस्थित निर्माण व्यवसायी रामजी श्रेष्ठ सञ्चाालक रहेको ‘क’ वर्गको निर्माण व्यवसाय कम्पनी हो । सडक निर्माण गर्ने सम्झौता गरेको १० वर्ष पुग्न लाग्दा पनि सडक नबनेपछि स्थानीयहरू भने धुलोले आजित बनेका छन् । उनीहरूले दर्जनौं पटक सडक डिभिजन कार्यालय सहित सम्वन्धित निकायमा हारगुहार गरे पनि सुनुवाई हुनसकेको छैन ।
पछिल्लो पटक मंगलबार सडक डिभिजन कार्यालय विराटनगरमा सोही गुनासो लिएर आएका स्थानीय मानबहादुर श्रेष्ठले ठेकेदारले चरम लापरवाही गरे पनि कार्यालयले कुनै कारवाही अघि नबढाएको गुनासो गरे । उनले ठेकेदारलाई तत्कालै कारवाही गर्न माग गरे ।
‘अब ठेक्का तोडिन्छ, ठेक्का सम्झौताको सर्त बमोजिम कारवाही अघि बढ्छ’ डिभिजन प्रमुख कार्कीले भने, ‘१० वर्ष भइसक्दा पनि निर्माण व्यवसायीले काम गरेको पाइएन, पछिल्लो पटक भएको सहमति पनि कार्यान्वयन भएन, चरम लापरवाही भएको छ, म चाँडै काठमाडौं गएर यो विषयमा विभागमा जानकारी
गराउनेछु ।’ वि.सं. २०७१ जेठमा काम सम्पन्न गर्नुपर्ने सडक तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा प्रथमे पटकका लागि वि.सं. २०७३ जेठ ३ गतेसम्मको म्याद थप गरिएको थियो । त्यति बेलै थपिएको म्यादभित्र काम नगरे सम्झौता अनुसार ठेकेदार पक्षले क्षतिपूर्ति तिर्ने र डिभिजन कार्यालयले ठेक्का तोडेर कारवाही अघि बढाउने सर्त थियो । तर, निर्माण व्यवसायी पक्षले भने ७० प्रतिशत भौतिक प्रगति देखाएर ठेक्का सम्झौताको ६० प्रतिशत अर्थात् झण्डै साढे ५
करोड रुपैयाँ रकम भुक्तानी लगेका थिए । बीचमा सो सडक प्रदेश सरकार मातहतमा हस्तान्तरण गरेर काम अघि बढाउन खोजिएपछि बजेट सुनिश्चितता हुन सकेन । पुनः नेपाल सरकारको २०७८ माघ १० गतेको निर्णय अनुसार सो सडक संघीय सरकार मातहतमै सडक विभागको जिम्मामा गएपछि सडक डिभिजन कार्यालय विराटनगरले अलपत्र सडक निर्माणका लागि ताकेता अघि बढाएको बताइएको छ ।
पछिल्लो पटक सडक डिभिजन कार्यालय विराटनगरमा २०७८ चैत २० मा बसेको बैठकमा सो सडक निर्माण गर्न प्रेरा निर्माण सेवाका प्रतिनिधि विकास मल्ल, सडक डिभिजन प्रमुख कार्की, स्थानीय मानबहादुर श्रेष्ठ, प्रभु राई, नरकाजी श्रेष्ठ, रमेश न्यौपाने लगायत सहभागी थिए । बैठकले १५ दिनभित्र निर्माण व्यवसायी प्रेरा, ज्योति जेभीले सडक निर्माणको सुरू गर्ने, स्थानीयले निर्माण कार्यमा रेखदेख र सहयोग गर्ने, विवाद भए समाधान गर्ने सहमति गरेको थियो । उल्लेखित मितिभित्र निर्माण कार्य सुरू नभएमा उक्त ठेक्का तोड्नेतर्फ कारवाही अघि बढाउने बैठकले निर्णय गरेको थियो । निर्माण व्यवसायीले सडक निर्माण अघि बढाएपछि म्याद थप र बजेट सुनिश्चिताका लागि डिभिजन कार्यालय मार्फत् कारवाही अघि बढाउने पनि सहमति भएको थियो । तर निर्माण व्यवसायीले उक्त सहमतिसमेत लत्याएर अहिलेसम्म सडक अलपत्र पारेका हुन् ।
सडक नबन्दा मधुमल्ला क्षेत्रका वासिन्दा सवैभन्दा बढी प्रभावित भएका छन् । उनीहरू विकासको पहुँचबाट विमुख हुँदा त्यस क्षेत्रको विकास रोकिएको छ । सडक छेउछाउका वासिन्दा हिउँदमा धुलोले प्रभावित बन्दै आएका छन् भने वर्षामा खाल्डाखुल्डी र हिलो सडकमा यात्रा गर्नुपर्ने बाध्यतामा छन् ।
जतिसुकै प्रयास गर्दा पनि निर्माण व्यवसायीले काम नगरेको स्थानीय प्रभु राईले बताए । उनले डिभिजन प्रमुख कार्कीसँग ठेकेदारलाई कारवाही हुनैपर्ने माग गरे । सडक निर्माण नहुँदा स्थानीयले वर्षेनी उक्त सडकमा चक्का जामलगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
निर्माण व्यवसायीले १२ दशमलव ४०० किलोमिटरमध्ये राधिका मावि छेउबाट उत्तर डीवी मार्गसम्मको ३ सय मिटरमा नमूना सडक सेक्सन निर्माण गरे पनि त्यसपछिको काम पुनः बन्द गरेको छ । काम अघि बढाउनुको साटो सार्वजनिक खरिद नियमावलीलाई देखाएर आफू अनुकूल गर्न खोजेको छ । ‘पटक–पटक पत्र काटियो तर निर्माण व्यवसायीले काम गरेको पाइएन, ढिलासुस्ती भइरहेको छ, लापरवाही भइरहेको छ, सडक लथालिङ्ग पार्न पाइदैन, ठेक्का सम्झौता बमोजिम कारवाही अघि बढाउँछौं’ डिभिजन प्रमुख कार्कीले भने ।

0 Comments:
Post a Comment