महतोको धम्कीले मेला महोत्सव संचालकहरु आतंकित

अनमोल समाचारदाता । उर्लाबारी

विभिन्न ठाउँमा मिनी मेला तथा महोत्सव संचालन गर्दै आएका व्यवसायीहरु अनाधिकृत व्यक्तिबाट आउने धाकधम्किबाट असुरक्षित महशुस गर्न थालेका छन् । उनीहरुले त्यस्ता व्यक्तिलाई कार्वाही गर्न माग गरेका छन् ।  

कोरोना कहरले थलिएपछि विस्तारै तंग्रिदै गरेको अवस्थामा धाकधम्कि र हुलहुज्जत हुन थालेपछि पेशाबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै मेला व्यवसायीहरुले गुनासो गरेका छन् । 

आफुलाई नेपाल मेला महोत्सव संघको अध्यक्ष बताउने सुनसरीको इटहरी बस्दै आएका नारायण महतोले निश्चित रकम माग गर्दै धम्क्याउने गरेको व्यवसायीहरुको गुनासो छ । मेला महोत्सव संचालन गर्दै आएका दर्जन बढी व्यवसायीले महतोलाई कार्बाही गर्न माग गरेका छन् । आफुले भनेजति रकम नदिएसम्म कार्यस्थलमा काम अघि नबढाउन भन्दै नारायण महतोले धम्क्याउने गरेको व्यवसायी प्रदीप रानापहेली बताउछन् । उनका अनुसार महतोलाई रकम दिर्नुपर्ने अवस्था आएपछि कतिपय व्यवसायीहरुले त्रासका कारण काम रोकेका छन् ।

यस्ता घटनाको आवश्यक छानविन गरेर निज नारायण महतोलाई कडा भन्दा कडा कारवाही गर्न र काम गर्ने वातावरण बनाउन व्यवसायीहरुले स्थानीय प्रशासनसंग माग गरेका छन् । ‘तोकिएको रकम नबुझाए मेला संचालनमा अवरोध गर्ने गरेका छन्’ व्यवसायी रानापहेली भन्छन्, ‘अब प्रहरी प्रशासनले निर्धक्कसंग मेला संचालनका काम अघि बढाउन आवश्यक सहजीकरण र सुरक्षा प्रवन्ध गर्नुपर्छ ।’ आफुहरुले करको दायरामा रही राज्यबाट स्वीकृति लिएरै मेला लगाउदै आएको उनको भनाई छ । 

मेला–महोत्सव ठप्प हुँदा देशभर दश हजार बढीकोे रोजगारी गुम्ने र व्यवसायीको करोडौको लगानी डुब्ने भन्दै रानापहेलीले चिन्ता प्रकट गरे । नारायण महतोको धाकधम्कि र आतंक दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि व्यवसायीहरुले सबैमा अनुरोध समेत गरेका छन् । 

महतोलाई कार्बाही माग गर्दै ऐक्यबद्धता जनाउने व्यवसायीहरुमा प्रदीप रानापहेली, कुमार श्रेष्ठ, पर्वत लामा ‘मालदाई’ सनी खड्का, राम अधिकारी, नारायण अधिकारी, गणेश राउत, दीलिप श्रेष्ठ, सपन थापा, गौरी राई, राजकुमार राजवंशी, अनिल साह, रेवत कटुवाल, विनोद चौधरी, विजु राजवंशी, समुन्द्र चौधरी, राधे राई, मन्तोस बंगालीलगायत रहेका छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment