मोरङ ३ का एमाले उम्मेदवार इरनकुमारका प्रतिबद्धता सार्वजनिक

अनमोल समाचारदाता
बेलबारी ।
नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार इरन कुमार राईले मोरङ क्षेत्र नं. ३ को समग्र विकासका लागि पर्यटन, कृषि आधुनिकीकरण र आत्मनिर्भरतालाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
घोषणापत्र मार्फत् राईले जिल्लाभित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । बेलबारीस्थित बेतना सिमसार, सिसौली सिमसार, रमितेडाँडा, सुजना पार्क, पथरीको श्रीजंगा पार्क, भुल्के डाँस मोरङलगायत क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना अघि सारिएको छ । साथै, एशियन हाइवे आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
यसैगरी, सहरी बजारहरूको सौन्दर्यीकरण, संस्कृति संरक्षण र स्थानीय उत्पादनको प्रवद्र्धनमार्फत पर्यटन आकर्षण बढाउने कार्यक्रमसमेत समेटिएको छ ।
कृषि क्षेत्रतर्फ उनले ‘कृषि नीति तथा राष्ट्रिय आत्मनिर्भरता’लाई मुख्य आधार बनाउँदै आधुनिक प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी विस्तार गर्ने बताएका छन् । उन्नत बीउ उत्पादन केन्द्र स्थापना, स्थानीय स्तरमै मलखाद तथा बीउबिजनको सहज उपलब्धता, कृषकका लागि तालिम तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख छ ।
कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्न ‘एक वडा–एक कृषि प्राविधिक’ कार्यक्रम सञ्चालन गर्ने तथा बिचौलियामुक्त बजार प्रणाली विकास गरिने प्रतिबद्धता जनाउनुभएको छ । किसानलाई प्रत्यक्ष बजारसँग जोड्न डिजिटल मार्केट प्लेटफर्म प्रयोग गर्ने योजना पनि अघि सारिएको छ ।
उम्मेदवार राईले कृषिलाई उपभोगमुखी मात्र नभई आयआर्जनमुखी र उत्पादनमुखी बनाउँदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने दाबी गर्नुभएको छ । राईका अनुसार पर्यटन र कृषि क्षेत्रको समन्वित विकासबाट मोरङ–३ लाई आर्थिक रूपमा सबल, आत्मनिर्भर र समृद्ध क्षेत्र बनाउने लक्ष्य राखिएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment