अनमोल समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले अपांगता भएका नागरिकलाई विभिन्न सहायक सामग्री वितरण गर्दै उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग उपलब्ध गराएको छ ।
एक कार्यक्रम का बीच अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई ह्विलचेयर, ट्वाइलेट चेयर र फोल्डिङ बेड वितरण गरिएको हो ।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख चन्द्रकला सुब्बाका अनुसार, कार्यक्रमको उद्देश्य अपांगता भएका नागरिकको जीवनयापनलाई सहज, सुरक्षित र सम्मानजनक बनाउनु हो ।
नगर उपप्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, अपांगता भएका व्यक्तिहरूको नगरस्तरीय सञ्जालका अध्यक्ष ब्यासकुमार लिम्बू, सचिव हेमन्त पौडेललगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकाको तथ्यांकअनुसार नगरभित्र हाल ९०५ जना विभिन्न प्रकारका अपांगता भएका व्यक्ति रहेका छन्। तीमध्ये ’क’ वर्गका पूर्ण अपांगता भएका २१९ जना, ’ख’ वर्गका ४२९ जना, ’ग’ वर्गका १५९ जना तथा ’घ’ वर्गका ९८ जना रहेका छन् ।
नगरपालिकाले यसअघि पनि विभिन्न कार्यक्रममार्फत २१७ जनालाई सहायक सामग्री, १०८ वटा फाइबर सिरक तथा ९ लाख ६५ हजार ९८१ रुपैयाँ बराबरको स्वास्थ्य उपचार सहयोग उपलब्ध गराइसकेको जनाएको छ ।
सहायक सामग्री तथा स्वास्थ्य उपचार सहयोग प्राप्त गरेपछि आफ्नो दैनिक जीवन सहज बनेको भन्दै लाभग्राहीहरूले नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनमा पनि अपांगता भएका नागरिकको आवश्यकता अनुसार यस्ता सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment