धेरै समय अघिदेखि नै ‘सहकारीले डुबायो बचतकर्ताको लगानी’ भन्ने शीर्षक र समाचार हेर्दै आइएको छ । हुन पनि हो नियमसंगत नचलेका सहकारीले आफूखुशी पैसा चलाएर या भनौ लगानी लगाएर बचतकर्तालाई भ्रममा राख्दै उनीहरुको लगानी चुर्लुम्म डुबाएको छ ।
यसरी नै बचतकर्ताहरूको करोडौं रुपैयाँ घोटाला गरेका धेरै सहकारी संस्थाले गर्नुपर्ने नियमित कार्य वार्षिक साधारण सभा नै नबसी पैसा चलाइरहेको थिएछन् भनेर पछि मात्र कचतकर्तालाई थाहा हुन थालेको छ ।
प्रायः सहकारीहरुले सुरुका दिनमा नियमित साधारण सभा सम्पन्न गर्ने पछि कुनै साधारण सभा नबसेको नै पाइएको छ । यसरी तपाई हामी यस्ता खालका सहकारीहरुबाट सचेत हुनैपर्छ । नत्र जति हामीलाई डुबाएको छ त्यो भन्दा बढी नै डुबाउनेछ ।
यस प्रकारका सहकारीहरुले लाभांश दिनु कहा हो कहाँ, वचत पैसा नै माग्दा एकले अर्कालाई आरोप लगाउने कार्य गर्दै आइरहेको छ । आर्थिक मन्दी र सहकारी सञ्चालकको लापरवाहीले पनि हुन सक्छ । कैयौं सहकारीहरु अझै टाँठ पल्टिने अवस्थामा छन् । जति सहकारी टाँठ पल्टिएका छन् त्यसको दोब्बर अझै टाँठ पल्टिने अवस्थामा रहेको सहकारीकारीविदहरु सुझाउँछन् ।
गत साता मात्र बचतकर्ताहरूको करोडौं रुपैयाँ घोटाला गरेको अभियोगमा तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका मुख्य प्रतिवादी रहेका शर्मालाई बिहिबार मोरङ प्रहरीले विराटनगरमा ल्याएको थियो । अतः यो घटनाले के देखाउँछ भन्दा हामी सहकारीमा अत्यन्त धेरै विश्वसनीय भएछौं । यो नै हो धेरै विश्वास गर्दाको परिणाम । कहिले हामीले सोचेनौ कि सहकारी सञ्चालन गर्ने व्यक्तिहरुको नियत कस्तो छ, र कस्तो थियो भनेर ।
यसरी नै मोरङ अदालतमा दायर भएको ठगी मुद्दामा अध्यक्ष शर्मा सहित गत चैत २४ गते सहकारीको कर्मचारी सहित ६ जना विरुद्ध प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । प्रतिवादीहरू सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रवन्धक मन्दिप खवासलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ । सहकारी सचिव न्यौपाने अध्यक्ष शर्माकी पूर्व श्रीमती हुन् । उनीहरू अहिले पुर्पक्षको लागि थुनामा रहेका छन् । शर्माविरुद्ध ठगी देशभरि ३८ जिल्लामा मुद्दा परेको छ । मुद्दा रहेको जिल्लाभरि उनलाई प्रहरीले उपस्थित गराउने भएको छ । यस्तै अदालतले थुनामा पठाउने आदेश दिए पनि शर्मालाई कैलाली जिल्ला अदालत धनगढी पठाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताएका थिए ।
यसरी घटनाक्रमहरू हेर्दा वचतकर्ताले कुनै पनि सहकारी सञ्चालक माथि निगरानी बढाएको भए यत्रो लगानी त आज ‘बालुवामा पानी’ हुने थिएन । त्यसैले हालसम्म जे जे भए अब उप्रान्त भावी दिनहरुमा हामी सचेत हुन आवश्यक छ । यदि यसरी नै अन्धाधुन्दमा विश्वास गर्ने हो भने हामी वचतकर्ताहरु सधैं लुटिएको लुटिए हुनेछौं । त्यसैले कुनै पनि सहकारी नियम कानुनसंगत सञ्चालन भएका छन् कि छैनन् सो कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सचेत बनौ, सवल बनौं, होशियार वचतकर्ताहरु ।

0 Comments:
Post a Comment