भ्रष्टचार मुद्दाका फरार अभियुक्तहरू पक्राउ


अनमोल समाचारदाता
मोरङ ।  मोरङका विभिन्न ठाउँबाट भ्रष्टचार मुद्दाका ५ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको ‘फरार अभियुक्त पक्राउ’ अभियानका क्रममा जिल्ला प्रहरी कार्यालय 
मोरङबाट खटिएको प्रहरी टोलीले भ्रष्टचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसला आदेशले ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैयाँ जरिवाना तोकिई फरार रहेका विराटनगर महानगरपालिका–३ का मणिराज दाहाल, ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैयाँ जरिवाना तोकिएका कुमारबहादुर कटुवाल, ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ जरिवाना तोकिएका टिकाराम अधिकारी, ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना तोकिई फरार रहेका देवराज नेपाल र ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैयाँ जरिवाना तोकिएका विराटनगर–४ का नयराज नेपाललाई पक्राउ गरिएको हो ।
यसरी खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनीहरूलाई मोरङ जिल्ला अदालतको आदेशले तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाएको जनाइएको छ । यसैगरी झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै ठाउँबाट विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले पशुपंक्षी मुद्दामा जिल्ला अदालत झापाको फैसलाले ४ महिना ११ दिन कैद भई  फरार रहेका दमक–३ का ३६ वर्षीय खगेन्द्र दुलाल, सोही मुद्दामा जनही ११ महिना १० दिन कैद फैसला भई फरार रहेको अर्जुनधारा–७ का ३० वर्षीय बीरबहादुर दनुवार र अर्जुनधारा–५ का २१ वर्षीय भोटे भन्ने इमोन तामाङलाई पक्राउ गरिएको हो । यस्तै डाका मुद्दामा मोरङ जिल्ला अदालतको फैसलाले कैद २ महिना ६ दिन र नगद ३ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका केराबारी– ६ का २१ वर्षीय रोजिस राई, कुटपिट अंगभंग मुद्दामा नगद १० हजार रुपैयाँ, कैद ७ दिन तोकिएका २३ वर्षीय विकास राई र जालसाझी घोषित मुद्दामा नगद ५ हजार रुपैयाँ जरिवाना भएका ५२ वर्षीय मदन अर्याललाई इलाका 
प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा नगद ६ हजार ५ सय जरिवाना र २ महिना  ७ दिन कैद तोकिएका कटहरी गाउँपालिका– १ का २८ वर्षीय करण श्रेष्ठ र सार्वजनिक मुद्दामा १८ सय रुपैयाँ जरिवाना तोकिएका ४५ वर्षीय भुपाल यादवलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो । 
पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment