‘जनमतले अनुभूति गर्ने तहबाट काम गर्छौं’



– देवीमाया काफ्ले, उपमेयर, पथरीशनिश्चरे नगरपालिका

देवीमाया काफ्ले पूर्वोत्तर मोरङको महिला आन्दोलनमा स्थापित नाम हो । पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ हसन्दह निवासी काफ्ले दोस्रो संस्करणको स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा (एमाले)को तर्फबाट उपप्रमुखको उम्मेदवार हुनुहुन्थ्यो । 

गाउँकी, नपढेकी र उमेर ढल्केकी आदि आरोप खेप्दै आउनुभएकी उहाँलाई चुनाव जित्न आफ्नै पार्टीभित्रबाट हम्मेहम्मे थियो । मनोवैज्ञानिक यो त्रासलाई प्रवाह नगरी उहाँ चुनावी मैदानमा अहोरात्र होमिनुभयो । आन्दोलनको निखारले स्थापित उहाँलाई जनमतले पत्यायो, राजनीतिक अभिमत एमालेको सूर्य चिन्हमा खसेसँगै उहाँ फराकिलो मतान्तरले उपप्रमुखको जिम्मेवारीमा निर्वाचित हुनुभयो । निर्वाचनपछि कार्यसम्पादनको यो करिब २ अढाइ महिना हुनलाग्दा नगरले आफ्नो सभा सम्पन्न गरेको छ, दैनन्दिन थुप्रै कामहरू सहज सम्पादन गर्दै आएको छ । यो सन्दर्भसँग जोडिएर गरिएको संवादका मुख्य अंशहरू : –

तपाईको दैनिकी कस्तो छ ? 
– जनप्रतिनिधिको भूमिकामा रहेपछि दिनचर्या अलिक फरक हुँदो रहेछ । दैनिक अफिस आउने–जाने गर्छु । बाटबाटै समस्या भेटिन्छन्, अभाव र तनावमा बाँचेका मानिसहरू भेटिन्छन् । तिनलाई सँगसँगै लिएर आउँछु र आफूले गर्न सक्नेसम्मको सक्दो सहयोग गर्दछु । न्यायिक समितिको संयोजकको हैसियतले बिहिबार र शुक्रबार इजलासमा बस्छु । अरु दिन नगरको काम र कामको आवश्यकतानुसार खटेकी छु । 


न्यायिक समितिमा कस्ता प्रकृतिका मुद्दाहरू आउछन् ? 
– साँधसीमाका झगडा, लेनदेन बिग्रिएका, बैदेशिक रोगजारीसँग जोडिएका, घरेलु हिंसा, यौनजन्य हिंसा, श्रीमान–श्रीमतीबीचको झगडा, चोरी आदि प्रकृतिका मुद्दाहरू आउछन् । अहिलेसम्म १२ वटा मुद्दाहरू मिलाइएको छ । मेलमिलाप गराउनु हाम्रो काम हो । मेलमिलापको विधिअनुरुप परस्पर समाधान खोज्ने प्रयत्न गर्छौं । 

यस पटकको नगरसभाबाट कस्ता कामका योजनाहरू अघि सार्नुभएको छ ?
– यो स्थानीय सरकार पुरानै सरकारको अविछिन्न उत्तराधिकारी सरकार हो । यसकारण पनि कतिपय योजनाहरू पुरानै सरकारको योजनाको निरन्तरतामा छन् । यस पटक हामीले पार्टीको प्रतिबद्धतापत्र मार्फत् कबोल गरिएका कामहरूलाई आफ्नो आवधिक र वार्षिक कार्यको रूपमा अघि सारेका छौं । यो आर्थिक वर्षमा विगत जत्तिको पनि बजेट प्राप्त भएन । बजेटको अभावमा कतिपय गर्नुपर्ने कामहरू पनि गर्न सकिएन । केही केहीलाई प्राथमिकताका आधारमा अघि सारेका छौं । कतिपय कामहरूलाई वडाले नै सम्पन्न गर्ने उद्देश्यका साथ सिलिङ बजेट विनियोजन गरियो ।

फोहोर व्यवस्थापनको समस्या निकै चर्चामा आएको छ नि !
– हो, यो यहाँको मुख्य समस्या हो । फोहोरको समोचित व्यवस्थापन हुन नसक्दा अहिले नजिकै रहेको जंगल प्रदूषित भइरहेको छ । यो लामो समयसम्मा रहनुहुँदैन, हामी यसप्रति पूर्णतः सचेत र गम्भीर छौं । हामीले एक्लैले के गर्न सक्छौं र छिमेकी पालिका मिलेर के गर्न सक्छौं ? यसबारे गृहकार्य गरिरहेका छौं । फोहोर भनेको मोहोर पनि हो । तर यसको सही सदुपयोग हुन सकिरहेको छैन । छेउछाउका पालिकाहरूसँग मिलेर, क्रमशः हातेमाले गर्दै यसको व्यवस्थापन गर्ने र यसबाट आयआर्जन गर्ने योजना बनाइरहेका छौं । 

विकास–निर्माण सम्बन्धी प्राथामिकता के हो ? 
– हामी पथरी शनिश्चरे नगरबासी आम नागरिकको जीवन स्तर उठाउन आवश्यक पर्ने सबैखाले विषयवस्तुहरू विकास–निर्माणसम्बन्धी प्राथामिकतामा पर्दछन् । शिक्षा र स्वास्थ्यमा पहुँच विकास सहित यहाँका अधिकांश नागरिकको दैनिक जीवनमा आयआर्जनको अभिवृद्धि नगरेसम्म चौतर्फी बाटोघाटो, पुल–कल्भर्ट निर्माणले मात्र मानिसको जीवनमा खासै फरक नपरेको पनि अनुभूति भएको छ । कतिपय बाटाघाटाहरू पराल सुकाउने, बिस्कुन सुकाउने, केटाकेटी खेल्ने स्थल मात्र भएका छन् तर बाटो नजिकैको बासिन्दा नागरिकको जीवन स्तर झन खस्किएको छ । प्रश्न उठ्छ– खस्किएको जीवन स्तरलाई माथि उठाउने कि बाटाघाटा निर्माणलाई निरन्तरता दिने ?

नगरको प्रशासनिक कार्यालय भवन निर्माण हुने कुरामा के छ तयारी ?
– यो निकै लामो समयदेखि उठ्दै र थिग्रँदै आएको विषय हो । अहिले चल्दै आएको स्थान विभिन्न हिसावले अपर्याप्त छ । यहाँ नगरपालिकाको कार्यालय भवन चल्न सक्दैन भन्ने कुरामा हामी पूर्णतः सहमत छौं । तथापि, यसको विकल्प खोज्ने विषयको हकमा पनि परिस्थितिअनुरुप निर्णय लिनु आवश्यक छ । यो निर्णय लिनुपूर्व हामी सर्वपक्षीय र सर्वदलीय सहमतिका साथ एउटा टुंगो लगाउने योजनामा छौं । सबैको साथ सहयोग लिएर जनमतले अनुभूति गर्ने तहबाट हामी काम गर्छौं । 

शविरस्थललाई पनि उपयुक्त मानिएको छ नि !
– यो पनि एउटा राम्रो विकल्प हो । हिजो कुनै बेला पथरी र शनिश्चरे गाविस मिश्रित पथरी शनिश्चरे नगरपालिका बन्दा यो ठीकै थियो होला ! तर अहिले यहाँको भौगोलिक मानचित्र र समग्र वस्तुस्थितिमा फेरबदल आएको छ । हामीसँग साविकको हसन्दह पनि छ । उसलाई पनि अपनत्वबोध गराउँदै यस प्रक्रियामा अनिवार्य सामेल गराउनुपर्छ भन्ने लाग्छ । यहाँको जनमत, सर्वपक्षीय र सर्वदलीय सहमति जहाँ जसरी हुन्छ, नगरपालिकाको कार्यालय भवन त्यहिँ बन्छ । 

पालिकाको दक्षिणी भू–भाग कृषि उर्बर छ । यसलाई कसरी प्रयोग गर्ने सोच्नुभएको छ ? 
– हो, ठीकै भन्नुभयो । साविकको हसन्दह अत्यन्तै उर्बर भूमिको रूपमा जिल्लामै अगाडि चिनिन्छ । यदाकदा धान खाने खेतबारी माथिको घडेरीकरण र खोला तटबन्धन अभावले यहाँको जमिन क्षयीकरण हुँदै गएको छ । नागरिकमा खोलाको उच्च वहावका कारण त्रास पनि बढेको अवस्था छ । यसप्रति स्थानीय सरकार गम्भीर छ । माथिल्ला सरकारको सहयोगमा तटबन्धन गर्ने, यहाँका कृषकलाई सस्तो र सुलभ दरभाउमा मलबिउ उपलब्ध गराउने, बालीनालीको बीमा गराउने र उत्पादित वस्तुका लागि बजार व्यवस्थापन गर्नेबारे हामी विषयगत ढंगले अध्ययन गर्ने र समयक्रममा योजना अनुरुप कामलाई अघि बढाउने तयारीमा छौं । 

सुकुम्वासी समस्या समाधानका उपायबारे के गर्नुभएको छ ? 
– हामीले सुकुम्बासीको वास्तविक अवस्था पहिचान गर्ने, यसबारे लगत उठाउने र यहाँको आवश्यता अनुसार समस्या समाधानका उपायबारे राय दिने हो । लगत उठाइसकेका छौं । समस्याको सुक्ष्म पहिचान भएको छ । अब यसको सम्पूर्ण व्यवस्थापन प्रदेश र संघीय सरकारले गर्ने हो । माथिल्ला सरकारलाई समयमा यो समस्या समाधान गर्न ताकेता गरिरहेका छौं ।  

अनुगमनबारे प्रश्न उठिरहेको छ । कसरी गरिरहनुभएको छ ? 
– कसले कहाँ के प्रश्न उठाउछ, उत्तर दिएर साध्य हुँदैन । विगतको सरकारले अनुगमन लगायत कतिपय समिति, उपसमिति निर्माणका लागि कार्यविधि, कार्यादेश नबनाएकोले गर्दा यसपटक हामीले अहिलेसम्म कतिपय समितिहरू निर्माण गर्न पाएका छैनौं । यसबीचमा अनुमगन गर्नुपर्दा सम्वन्धित वडाका नागरिकलाई जिम्मेवार बनाएर, पूर्णतः जवाफदेही बनाएर र त्यहाँ चुनिएका जनप्रतिनिधिहरूलाई सँगसँगै लिएर अनुगमन गर्ने गरेकी छु । 

अन्त्यमा केही भन्नु छ कि... !
– म खुला कितावको पाना हो । जसले जसरी चाह्यो, उसरी पढ्न सक्छ । यहाँ पनि तपाईले मलाई पढ्ने अवसर दिनुभयो । यसर्थ धन्यवाद ! लोकप्रियताका कसीमा मैलो आफ्नो नाउँमा हायहाय कमाउनु छैन, यसबीचमा मलाई विश्वास गर्ने पार्टीको साख बचाउनु छ, पार्टीको सफल र असल उत्तराधिकारीको रूपमा उभिएर प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने छ । यसक्रममा जनमतले मप्रति गरेको विश्वासलाई रत्तिभर ढल्न दिन्न । बरु तिनकै आलोचना, सुझाव र सहयोगलाई ग्रहण गर्दै अघि बढ्ने विश्वास दिलाउछु । 

– प्रस्तुति :  भूमिप्रसाद पाठक

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment