करोडौं रुपैयाँ घोटाला प्रकरण : तुलसी सहकारीका अध्यक्ष पक्राउ



अनमोल समाचारदाता
मोरङ । बचतकर्ताहरूको करोडौं रुपैयाँ घोटाला गरेकोमा तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरी विराटनगर ल्याएर पुनः कैलाली लगेको छ । 
जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका मुख्य प्रतिवादी रहेका शर्मालाई बिहिबार मोरङ प्रहरीले विराटनगरमा ल्याएको थियो । प्रहरीले मोरङ अदालतमा शुक्रबार हाजिर 
गराएको थियो । शुक्रबार थुनछेक बहसपछि शर्मालाई पुर्पक्षको लागि कारागारमा राख्ने आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालले थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । मोरङ अदालतमा दायर भएको ठगी मुद्दामा अध्यक्ष शर्मा सहित गत चैत २४ गते 
सहकारीको कर्मचारी सहित ६ जना विरुद्ध प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । प्रतिवादीहरू सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रवन्धक मन्दिप खवासलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सहकारी सचिव न्यौपाने अध्यक्ष शर्माकी पूर्व श्रीमती हुन् । उनीहरू अहिले पुर्पक्षको लागि थुनामा 
रहेका छन् । शर्माविरुद्ध ठगी देशभरि ३८ जिल्लामा मुद्दा परेको छ । मुद्दा रहेको जिल्लाभरि उनलाई प्रहरीले उपस्थित गराउने भएको छ । यस्तै अदालतले थुनामा पठाउने आदेश दिए पनि शर्मालाई कैलाली जिल्ला अदालत धनगढी पठाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी 
रञ्जनकुमार दाहालले बताए । कैलालीमा अर्काे मुद्दा भएका कारण त्यहाँ पठाइएको उनले बताए । कैलालीपछि दाङ लैजाने तयारी छ । दाङमा पनि ठगीको मुद्दा छ । १ फागुन २०७९ देखि सहकारी बन्द छ । वि.सं. २०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालनको जिम्मा वि.सं. २०७२ सालमा केदारनाथ शर्माले लिएका थिए । विराटनगरको विराट नर्सिङहोम चौकमा कार्यालय खोलेर उनले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय खोलेका थिए । 
मोरङको लेटाङमा शाखा कार्यालय खोल्ने तयारी थियो । मुख्य कार्यालय विराटनगर र तीन वटा शाखा कार्यालयमा २१ हजार १ सय ५४ जना बचतकर्ताले १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत संकलन गरी सञ्चालक फरार भएका थिए । फरार भएका अध्यक्ष शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको थियो । सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १ सय ७८ वटा निक्षेप खाता छन् । दमक शाखामा ६ हजार ९ सय ६८, गाईघाट शाखामा ३ हजार तीन सय ३४, गोलबजार शाखामा छ सय ७४ सहित २१ हजार १ सय ५४ वटा खाता छ । तुलसी सहकारीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखामा ६० करोड ७२ लाख ९३ हजार, गाईघाट शाखामा २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरेको थियो । सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरिसकेका थिए । स्थानीय सर्वसाधारणको १ अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३ सय ७८ रुपैयाँ अध्यक्ष शर्माको ६ वटा कम्पनीलाई ऋण लगानी गरेको देखिन्छ । सहकारीको कूल पुँजी १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार दुई सय ९१ रुपैयाँ छ । जसमध्ये १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७ सय ५१ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ खर्चको हिसाब प्रहरीले अनुसन्धानका क्रममा भेटेको थिएन ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment