स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्

 


डा. बानिरा कार्की
स्तनमा कुनै गाँठागुठी आउनु महिलामा हुन सक्ने स्तन क्यान्सरको एउटा सुरुवाती संकेतको रुपमा आशंका गरिन्छ । किनभने स्तन क्यान्सरको एउटा लक्षण स्तनमा गाँठो आउनु पनि हो ।
यद्यपि स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको संकेत नहुन पनि सक्छ । तर गाँठागुठी आएमा सामान्य चेकजाँच भने जरुरी हुन्छ । ताकि  क्यान्सर नभए ढुक्क भएर बस्न र क्यान्सर भएमा छिटो पहिचान तथा उपचार भई निको पार्न सकियोस् ।
८० प्रतिशत गाँठागुठी क्यान्सरको संकेत नहुन सक्छन्  स्तनमा गाठाँगुठी आउनु सामान्य हो । यो महिलामा कुनै पनि उमेर समूहमा देखिन सक्छ । गाँठागुठी आउने कारण र त्यसको आकार प्रकार फरक–फरक हुन्छ । स्तनमा देखिने गाँठागुठीमध्ये ८० प्रतिशतमा क्यान्सर हुँदैन । तर २० देखि ३० प्रतिशतमा स्तन क्यान्सर हुन पनि सक्छ ।
आजभोलि वयस्क महिलामा मात्र नभई किशोरीहरुमा पनि तनाव, हार्मोनको गडबडी र जीवनशैलीका कारण स्तनको वरपर प्रायः गिर्खा देखिइरहेको हुन्छ । जुन महिनावारी हुँदा आकारप्रकार अलि बढ्ने र सकिएपछि घट्ने हुन्छ । यस्ता गिर्खामा क्यान्सर हुँदैन । कहिलेकाहीं स्तनपान नगराउँदा, महिनावारी अनियमित हुँदा स्तनमा सिस्ट (पानीको फोका) देखिन सक्छ । यो चलाउँदा हल्लिने र नरम खालको हुन्छ । यस्ता सिस्टमा क्यान्सर नहुन पनि सक्छ ।
स्तन क्यान्सर के कारणले हुन्छ भन्ने स्पष्ट कारण छैन । वंशाणुगत, मोटोपन, धुम्रपान, जंकफुड, अवस्थ जीवनशैली, गर्भनिरोधक चक्की लामो समयसम्म खाने, उमेर कटेपछि सन्तान जन्माउने पक्षलाई केही हदसम्म स्तन क्यान्सरमा जिम्मेवार मानिन्छ ।
स्तन क्यान्सरका लक्षण
– स्तन वा काखीमुनि गिर्खा वा डल्लो मासु देखिनु
– स्तनको छालामा सुन्तलाको बाहिरी बोक्राजस्तो रङको हुँदै जानु
– निप्पलभित्रपट्टि छिर्दै जानु
– स्तनको निप्पल निचोर्दा पानी र पिप बग्नु
– रातो घाउ हुनु
– सानो गिर्खा हुँदा नदुख्ने, छिटो बढ्ने र छाम्दा कडा खालको आकारप्रकार हुनु
स्तन क्यान्सरको लक्षण कसरी थाहा पाउने ?
नियमित रुपमा २० वर्षपारि महिलाले महिनावारी भएको १० दिनपछि महिनामा एकपटक ऐनाअघि उभिएर स्तन र काखीको वरपर गाँठागुठी छ कि छैन हेर्नुपर्छ ।
यससँगै निप्पलमा पनि केही असामान्य परिवर्तन छ भनेर 
हेर्नुपर्छ । यदि स्तन तथा काखीमा गिर्खा भएको अनुभव भएमा क्यान्सर होस् वा नहोस् चिकित्सकलाई अनिवार्य देखाउनुपर्छ । सुरुमा गाँठागुठी कतिको सामान्य हो भनेर पहिचान गर्न अल्ट्रासाउण्ड 
गरिन्छ । यस्तै ४५ वर्ष काटेका महिलामा अल्ट्रासाउण्ड र मेमोग्राम दुवै गरिन्छ । मेमोग्राम र अल्ट्रासाउण्ड गरेर हेर्दा पनि रिपोर्ट शंकास्पद आएमा बायोप्सी गरिन्छ  ।
के यो पूर्णतया निको हुन्छ ?
स्तन क्यान्सरका चार चरण छन्, जसमध्ये पहिलो र दोस्रो 
चरणमा छ भने शतप्रतिशत न्यून हुन सक्छ । तर तेस्रो चरणमा जटिल र सम्भावना केही कम हुन्छ । चौथो चरणमा छ भने केही आयु बढाउन सकिन्छ तर पूर्णतया निको पार्न सकिंदैन ।
उपचार
क्यान्सरको उपचारमा शल्यक्रिया, किमोथेरापी, किमो 
रेडियोथेरापी र हार्मोनल थेरापी 
गरिन्छ । यी सबै विधि सबैमा लागू हुन्छ भन्ने हुँदैन । क्यान्सरको चरण र क्यान्सरको अवस्था हेरेर कुन उपचार विधि गर्नुपर्छ भनेर 
निर्धारण गरिन्छ ।
स्तन नै काटेर फाल्नु पर्दैन
पहिले स्तन क्यान्सरबाट जोगिन स्तन नै काटेर फाल्नुपर्ने बाध्यता थियो । तर अहिले नयाँ नयाँ प्रविधि भित्रिएसँगै क्यान्सर हुने बित्तिकै स्तन नै काटेर फाल्नुपर्छ भन्ने छैन । जसकारण स्तन बचाएर नै यस क्यान्सरको उपचार गरिन्छ । क्यान्सरको कोषिका छ त्यहींको सानो भाग मात्र काटेर जस्ताको तस्तै आकार बनाउन सम्भव भइसकेको छ । किमोथेरापीबाट क्यान्सर भएको भागलाई सुकाएर निकाल्न सकिन्छ । स्तन फाल्नुपर्ने अवस्था आए नयाँ स्तन राख्ने विकल्पसमेत हुन्छन् ।
उपचार खर्च ?
निजी अस्पतालमा स्तन क्यान्सरको उपचार औसतमा 
चारदेखि पाँच लाख पर्न 
आउँछ । यद्यपि, सरकारले 
उपचार खर्च स्वरुप एक लाख रुपैयाँ दिने गर्छ । यसले 
क्यान्सर भएकाहरुलाई उपचारमा केही हदसम्म सहयोग पुगेको 
छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment