अनमोल समाचारदाता
विराटनगर । ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने मूल नाराका साथ कोशी प्रदेश सरकार पर्यटन, वन तथा
वातावरण मन्त्रालयद्वारा आयोजित ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मका भएको म्याराथनमा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम भएका छन् । २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दै सेनाका रावल प्रथम भएका हुन् ।
नेपाली सेनाका सुशील कुमार शाही दोस्रो हुँदा बैतडीका म्याराथन धावक मोहनदेव जोशी तेस्रो बने । चौथो र पाँचौ स्थानमा नेपाली सेनाका क्रमशः होमलाल श्रेष्ठ र श्रीकाश राई भए भने छैटौं स्थानमा सशस्त्र प्रहरीका किरणसिंह बोगटी भए । म्याराथनमा प्रथम बनेका रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका छन् । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा दूरी पार गरेकी हुन् । सशस्त्र प्रहरीकीे सिमा थारु चौधरी दोस्रो हुँदा नेपाल प्रहरीकी तिर्सना कुमाल तेस्रो र विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । उनीहरुले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
म्याराथनको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको बताए ।

0 Comments:
Post a Comment