अनमोल समाचारदाता
उर्लाबारी, माघ २९
आफ्नै हात जगन्नाथ ! भनेझै मोरङको उर्लाबारी – ६ मा अवस्थित राधिका माध्यमिक विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यले क्रमशः आ – आफ्ना सन्तान र भाइलाई नियुक्ति दिलाएको खुल्न आएको छ ।
आफ्नै हात जगन्नाथ ! भनेझै मोरङको उर्लाबारी – ६ मा अवस्थित राधिका माध्यमिक विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यले क्रमशः आ – आफ्ना सन्तान र भाइलाई नियुक्ति दिलाएको खुल्न आएको छ ।
विद्यालयको मावि तृतीय सरहको प्रशिक्षक, प्रावि तृतीय सरहको ल्याब सहायक र लेखा सहायक पदमा मिलेमतोमा नियुक्त गरिएको खुलेको हो । प्रशिक्षकमा विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलकी छोरी प्रतिमा पोख्रेल, ल्याब सहायकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईका छोरा अभिषेक राई र लेखा सहायक पदमा विद्यालयकै व्यवस्थापन समिति सदस्य दीपेन्द्र थापाका भाई (काकाको छोरा) प्रकाश थापालाई नियुक्त गरिएको छ । ‘सेटिङ’मा परीक्षा लगायत सम्पुर्ण पक्रिया पुरा गरेर प्रअदेखि व्यवस्थापन समितिका सदस्यसम्मले आफ्नै नातागोतालाई नियुक्त गरेको खुलेको छ । कतिसम्म भने प्रअ पोखरेलकी छोरी र व्यवस्थापन समिति सदस्य थापाका भाईले एक्लै प्रतिष्पर्धा गरेका थिए । नियुक्तिका लागि गत पुस ५ गते परीक्षा गरिएको थियो भने ६ गते सबैजना नियुक्त भएको उर्लाबारी नगरपालिकाको शिक्षा शाखाका अधिकृत अशोक घिमिरेले जानकारी दिए । नियुक्तिका लागि परीक्षा गराउन नगरपालिकाबाट प्रतिनिधिको रुपमा शिक्षा शाखाका अधिकृत घिमिरे, नगरपालिकाको तोकेको विषय विज्ञका रुपमा सन्निकुमार साह गएका थिए । प्रशिक्षक र ल्याब सहायक पदमा घिमिरे र साह सहित व्यवस्थापन समितिका सदस्य दीपेन्द्र थापा, र प्रअको प्रतिनिधिका रुपमा शिक्षक चुणामणि नेपालले परीक्षा गराएका थिए । आफ्नै छोरीलाई नियुक्त गराउन प्रअ पोखरेल भने परीक्षा प्रक्रियामा सहभागी नभएको देखिएका थिए ।
नगरपालिकाको शिक्षा शाखा अधिकृत घिमिरेले करार नियुक्ति पक्रियामा एक जना मात्र सहभागी भएपनि ऐनमा पुनः विज्ञापन आह्वान गराउनुपर्ने व्यवस्था नभएकाले त्यसैलाई मान्यता दिएको बताएका छन् । उनले आफुलाई प्रअ र समितिका अध्यक्षका छोराछोरी भनेर थाहा नभएको प्रतिक्रिया दिएका छन् । विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलले प्रक्रिया पूरा गरेरै छोरी प्रतिमाको नियुक्ति भएको दाबी गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईले विज्ञापन खुलाएरै प्रक्रियागत ढंगबाट नियुक्त भएकाले गलत काम नभएको जिकिर गरेका छन् । नगरपालिकाको शिक्षा शाखाले परीक्षाको सम्पुर्ण पक्रिया गर्ने भएकाले यसमा आफुहरुको भुमिका नरहेको उनले जिकिर गरे । विद्यालय अध्यक्ष चन्द्रबहादुर राईले यसअघि पनि प्रक्रिया मिचेर छोरी आश्मा राईलाई निजी स्रोतमा शिक्षकको जागिर खुवाएका छन् । उनकी छोरी आश्मा राधिकामा कार्यरत शिक्षक हुन् ।
उता नगरपालिका प्रमुख गंगाप्रसाद खरेलले गलत ढंगबाट शिक्षक तथा कर्मचारीमा नियुक्त गरिएको भए त्यो गलत भएको भन्दै कारबाही हुने बताएका छन् । नगरपालिकामा उजुरी परे त्यस विषयमा छानबिन हुने नगर प्रमुख खरेलले बताए । नगरपालिकाको अनुगमन समिति संयोजक समेत रहनुभएकी उपप्रमुख मिना खतिवडा पौडेलले विद्यालयमा प्रअ र समितिका अध्यक्षले आफ्ना छोराछोरीलाई नै करारमा नियुक्त गराएको हो भने त्यस विषयमा छानबिन हुने बताएकी छिन् ।

0 Comments:
Post a Comment