विद्यालयको जग्गा मिलेमतोमा बिक्री

अनमोल समाचारदाता
मोरङ । मोरङको रतुवामाई ५ मा अवस्थित सुनवर्सी उच्च माध्यमिक विद्यालयले आफ्नो नाममा रहेको जग्गा बिक्री गरेको रहस्य सार्वजानिक भएको छ । 

वि.सं. २०६७ सालमा विद्यालयले आवश्यक पूर्वाधार निमार्ण गर्ने भन्दै विद्यालय व्यवस्थापन समितिमा निर्णय 
गराएर ३९ घर परिवारलाई नेपाली कागजमा तमसुक गराएर विद्यालयले रकम लिदै जग्गा विक्री गरेको पाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष भगतराम शर्मा र विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर अधिकारीले आफूहरुलाई जग्गा बिक्री गरेको स्थानीय हरिप्रसाद प्रधानले बताए । विद्यालयका प्रधानाध्यपक तथा व्यवस्थापन समितिले विद्यालयको मातहतमा रहेको १ विघा ७ कठा १४ धुर जग्गा ३९ घरपरिवारलाई बिक्री 
गरेको खुलेको हो ।

विद्यालयसँग वि.सं. २०६७ सालमा उक्त जग्गा ३९ परिवारले ४० लाख रुपैयाँमा खरिद गरेको र अहिलेसम्म विद्यालयले जग्गा पास भने नगरेको स्थानियको गुनासो छ । तत्कालीन साविकको राजघाट गाविसको कित्ता न ४७ को एक विघा ७ कठ्ठा १४ धुर जग्गा स्थानीयले खरिद गरेको तमसुकमा उल्लेख छ । वि.सं. २०२५ सालदेखि सो जग्गामा ३९ घर परिवार बसोबाँस गर्दै आएका छन् । वि.सं. २०३२ सालमा विद्यालय स्थापना भएपछि सो जग्गा विद्यालयको नाममा दर्ता भएको थियो । तमसुक बनाएर विद्यालयले जग्गा बिक्री गरेको भन्दै स्थानीयले तमसुक समेत देखाएका थिए । 

खरिद गरेको १० धुर जग्गा लगभग १२ वर्ष बितिसक्दा समेत विद्यालयले आफ्नो नाममा जग्गा पास नगर्दा उठिवास हुने अवस्थामा आफूहरू पुगेको स्थानीयले सुझाए ।

आफूहरुले विद्यालयको जग्गा स्थानीयलाई पास गर्न नमिल्ने भनेपछि ३९ परिवारले रकम संकलन गरेर सोही वडामा सट्टाभर्नाका लागि भन्दै एक विघा जग्गा खरिद गरेको स्थानीय ज्ञानबहादुर देउजाले जानकारी दिए ।

सो जग्गामा सट्टाभर्नाका लागि पनि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय लगायत विभिन्न निकायमा धाउँदा पनि सट्टाभर्ना गर्ने कानुनी व्यवस्था नभएको भन्दै प्रक्रिया अघि वढ्न नसकेको उनीहरुले जनाए । 

सट्टाभर्नाका लागि जग्गा खरिद गरियो तर सट्टाभर्ना हुन नसकेको उनीहरुको भनाइ छ । ३९ परिवारले ८ धुरदेखि १२ धुरसम्म जग्गा खरिद गरेर वसोवास गर्दै आएका छन् । 

सडक र पूर्वाधारका कारण अहिले उक्त स्थानमा ठूलो वस्ती बसिसकेको छ । विद्यालय व्यवस्थापन समितिका हालका अध्यक्ष कुशल अधिकारीले कानुनी प्रक्रिया नभएका कारण ३९ परिवारलाई विद्यालयले जग्गा पास गर्न नसकेको बताए । 

सट्टा भर्ना तथा जग्गा पास गर्नका लागि कानुनी प्रक्रिया मिलेपछि जग्गा पास गर्न विद्यालय तयार रहेको अध्यक्ष अधिकारीले बताए । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment