युगकविको क्रान्तिकारी चिन्तन


डा. फणीन्द्रराज निरौला

राणाकालीन परिवेश विषमताले भरिएको थियो । राणाहरूबाहेक त्यसबेला सर्वसाधारण कसैलाई पनि कुनै प्रकारको स्वतन्त्रता थिएन । यस्तो विषम परिवेशमा सामान्य मुटु भएका मानिसबाट क्रान्ति, विद्रोह, उथलपुथल वा हडतालजस्ता पक्षबारे सिर्जनाका माध्यमबाट सम्प्रेषण गर्नु सम्भव थिएन । 

चारैतिरबाट नेपाली जनतालाई बन्धनमा पारेर राखिएका बेला सत्ता वा शासन व्यवस्था र सामाजिक, आर्थिक, नैतिक आदि पक्षका बारेमा थोरै असन्तुष्टि पोख्दा मात्रै पनि कठोर यातना बेहोर्नुपर्ने वा ज्यान नै जोखिममा पुग्न सक्ने अवस्था सिर्जना हुने गरेका दृष्टान्त प्रशस्त पाइन्छन् । 

अति नै विषम परिस्थितिका बिच आफ्नो सिर्जना कर्मका माध्यमबाट क्रान्तिको उद्घोष गर्ने युगकवि सिद्धिचरण श्रेष्ठ शासकका आँखाको तारो बन्नुपरे पनि वा जोखिमयुक्त जीवन बिताउन बाध्य भए पनि नेपाली साहित्यमा त्यसबेला कसैले आँट नगरेको क्रान्तिको उद्घोष गर्न आफूलाई अग्रसर गराउँछन् । अनुदारवादी राणाशासन र शासकप्रतिको आमजनताको वितृष्णालाई कविता काव्यमार्पmत सम्प्रेषण गर्ने युगकविको साहसिक यात्रा वास्तवमा प्रशंसनीय मात्र होइन; स्तुत्य, ऐतिहासिक र सम्झनायोग्य पनि रहेको छ । 

आधुनिक नेपाली वाङ्मयका फाँटमा पाश्चात्य जगत्मा विकसित भएको स्वच्छन्दतावादी काव्यधाराको आमन्त्रण गरी अमर बनेका युगकविले वि.सं. १९९० पूर्व नै तत्कालीन शासनसत्ताका विरुद्ध क्रान्तिको आह्वान गरेका थिए । क्रान्तिकारी चेतका कारण यिनले आफ्नो अलग्गै पहिचान कायम गरेका थिए । ६ दशकभन्दा लामो सिर्जनाकर्ममा तल्लीन कविको यो चेतना काव्ययात्राका हरेक क्षणमा सहज एवं् सचेत रूपमा यत्रतत्र प्रकट भएको पाइन्छ । यिनका ‘वर्षा’, ‘परिचय’, ‘मेरो प्रतिविम्ब’, ‘कुहिरो र घाम’, ‘मङ्गलमान’जस्ता अनेकानेक कालजयी कृतिमा क्रान्तिचेतना सबल रूपमा प्रवाहित छ । 

राणाकालीन अन्धकार युगमा सिर्जना यात्रा प्रारम्भ गर्ने युगकविले तत्कालीन अति पीडादायी क्षणका विषाक्त पीडाबोधलाई किशोरावस्थामै प्रस्तुत गरे । वि.सं. १९८४ मा लिखित ‘सन्ध्या’ शीर्षकको कवितामा प्रकृतिको सौम्य एवं मनमोहक चित्रण गरिएको भए पनि यसमा जनताले भोग्नुपरेको पीडादायी अवस्थाको प्रतीकात्मक रूपमा अभिव्यक्त भएका छन् । प्रकृतिका शाश्वत गतिविधिको चित्रण गरिएको भए पनि तत्कालीन शासकप्रतिको व्यापक असन्तुष्टिलाई यसरी आरोपित 

गरी यस्तो अभिव्यक्ति दिएका छन् ः

सौन्दर्यकै नदसमान पहाडमाला, झल्किरहेछ अहिले पिइप्रेम–प्याला आनन्दमग्न सब छन्, सुखले प्रमत्त, साँच्चै भनूँ तर कुनै पनि छैन नित्य ।  

वास्तवमा सन्ध्याकालीन अतुलनीय सौन्दर्य साँच्चिकै मनमोहक छ । पहाडका शृङ्खला प्रेमका प्याला पिएर आनन्दमग्न देखिन्छन् । यो आनन्द वा खुसियाली जसरी क्षणिक हुन्छ प्रकारान्तरले त्यसरी नै पहाडका शृङ्खलासमान उच्च वर्गका मानिस आनन्दविभोर भएर भोगविलासमा डुबेका भए पनि त्यो क्षणिक छ भन्दै कवि 

राणाकालीन अन्धकार युगको शीघ्र अन्त्य हुने कुराको सङ्केत गर्छन् । यहाँ कविले व्यञ्जनाका तहबाट राणाकालीन परिवेश उजागर गरेका छन् । तत्कालीन शासन र शासकका विरुद्ध अभिव्यक्ति दिनका निम्ति गरेको साहस सामान्य थिएन । यसबाट यिनको मनमस्तिष्कमा राणाशासनप्रति कति आक्रोश र असन्तुष्टि थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । 

आठ–नौ वर्षको उमेरमा आनन्दै आनन्दले भरिएको बाल्यकाल आफ्नो जन्मभूमि एवं असीम प्राकृतिक सौन्दर्यले युक्त ओखलढुङ्गालाई छाडेर काठमाडौँ आएर बस्नुपर्दा यिनलाई काठमाडौँ सहर मरुभूभिसमान शुष्क लाग्छ । चारैतिर उपेक्षा, घृणा एवं  तिरस्कारले व्याप्त दूषित हावामा सास लिन पनि गाह्रो हुन्छ । 

राणाकालीन शोषण र उनीहरूको विलासी जीवनबाट नेपाली जनता वाक्क–प्याक्क भएको अनुभव गर्छन् । राणाहरूको क्रूर शासन र ऐयासी जीवनशैली धेरै दिन टिक्दैन र राणाकालीन अन्धकार युगको अन्त्य अवश्यम्भावी छ भन्ने यिनमा पूर्णविश्वास पलाएर आउँछ । 

वास्तवमा समाजमा जो सोझो, इमानदार, कर्मठ, परिश्रमी छ; त्यसको कुनै मूल्य छैन तर जो हिंसा, शोषण, अन्याय र दमनकारी छ उसैको शरणमा निमुखा जनता जान बाध्य हुन्छन् । आफ्नो बल, वैभवले युक्त केही व्यक्तिले समाजलाई आफ्नो कब्जामा पारेका छन् । यस्तो सामाजिक विषमता र अन्यायका दुश्चक्रमा पारी दमन गर्नेहरूका विरोधमा उनी आफ्नो ‘कलमबाज’ कवितामा यस्तो तीखो अभिव्यक्ति दिन्छन् –

विषको पोका काखीमा च्यापी हिँड्न तिमीले जानेमा

तिम्रो हात आई पर्दछ बलवैभव घाम बढेमा ।

देशविकास र रोजगारीका अनन्त सम्भावना रहे पनि शासकहरूको अदूरदर्शिता, अकर्मण्यता, नीतिहीनता आदिका कारण देशका होनहार एवं ऊर्जाशील युवायुवतीहरू, छात्रछात्राहरूलाई विदेश पलायन हुन बाध्य पारिएको छ । यसले पारिवारिक, सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रलगायत सिङ्गो देशलाई दयनीय एवं कमजोर बनाउँदै लगेको छ । सदियौँदेखिको यस किसिमको नियति नेपाली जनताले भोग्दै आएका छन् । नेपाल र नेपालीको यस्तो कहालीलाग्दो र भयावह अवस्था देखेर युगकवि अत्यन्त दुःखित बनेका छन् । विषमताले ग्रस्त देशको यस्तो अवस्थाकै कारण नेपाली युवायुवती अपरिचित ठाउँ वा विदेश जान बाध्य छन् भन्ने यिनको ठम्याइ छ । यस सन्दर्भमा विषमताले ग्रस्त अन्धकार युगका द्रष्टा र भोक्तासमेत बनेका कविले यस्तो मार्मिक अभिव्यक्ति दिएका छन् :

देशको विषमताले उछिन्निएर कता कता पाखा लागेका गरिब नेपाली बिरुवाका फूलहरू ।

युगीन विषक्तताका कारण शोषित वर्ग पानीविनाको माछाजस्तो भएको छ । यस्तो विकृत एवं विषाक्त युगलाई कविले तातिएको कराहीका रूपमा चित्रित गरेर वर्तमान विश्व अन्धकार युगमा रूपान्तरित भएको र जर्जर अवस्था सिर्जना भएको अभिव्यक्ति ‘ज्वालामुखी’ कवितामा यसरी प्रस्तुत गर्छन् ः

हामी माछा जगत् हुन गो तातिएको कराही  

सम्झ्यो जान्यो जति गति यहाँ हुन्छ सन्तप्त प्राणी ।  

कविले ‘मृत्यु’, ‘विश्वव्यथा’, ‘गाउँ फर्कनु छ’, ‘कविता लेखेँ’, ‘नयाँ वर्ष’, ‘मातृभूमिको वन्दना’ लगायत कवितामा राणाकालीन युगमा मान्छेले भोग्नुपरेका अनेकौँ नग्न एवं वीभत्स अवस्थाको सजीव चित्र उतारेका छन् । १९९६ मा आफ्नो चारवर्षे नाबाक छोरो विश्वको दुःखद मृृत्यु हुँदा कवि अन्याय, शोषण, अत्याचारका विरुद्ध क्रान्तिको उद्घोष गर्छन् । विषमता र निकृष्टताले व्याप्त युगका विरुद्ध क्रान्तिको साहसपूर्ण हुङ्कार ‘विश्वव्यथा’ कवितामा यसरी 

गरेका छन्आ :ज नखाऔैँ नसुतौँ आओ सब मिलि हडताल मचाऔँ

कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौँ ।   

यिनका कृतिहरूमा क्रान्ति, जागरण, उत्तेजना एवं उच्च आत्मबल प्रदान गर्ने सामथ्र्य रहेको पाइन्छ । कर्तव्य र दायित्वबाट कति पनि विचलित नभई जनतामा कर्तव्यपालन तथा आफ्नो दायित्वबोधको निर्वाह गराउने प्रबल भावनालाई पनि यिनी प्रस्तुत  गर्छन् । जन्जिरमा जकडिएको युुगलाई अघि बढाउन, युवाशक्तिलाई जागृत गर्न, देशमा व्याप्त अन्याय, अत्याचारको अन्त्यका लागि क्रान्ति आवश्यक छ भन्ने यिनको मान्यता रहेको छ । वास्तवमा क्रान्तिविना शान्ति तथा सुव्यवस्था सम्भव छ भन्ने कुरामा यिनी विश्वस्त देखिन्छन् । यही कुरालाई १९९६ सालमा लिखित ‘भानुभक्तप्रति’ कवितामा आफ्नो ओजस्वी 

वाणीद्वारा यस्तो अभिव्यक्ति दिन्छन् ः

क्रान्तिविना लौै कसले देख्यो शान्तिपारिको घरबार,

क्रान्ति उज्यालो चाहिन्छ यहाँ नेपाली यी सुकुमार ।

ए नेपाली दाजु र भाइ, आमा, बहिनी ! क्रान्ति गरौँ, 

कविजी ! हाम्रो, हामी कविको, यही गीतले व्योम भरौँ । 

युगकवि सदा सङ्घर्षशील मानसिकताले ओतप्रोत अविचलित योद्धाका रूपमा उभिएका छन् । अन्याय, अत्याचार र शोषणका विरुद्ध मेघझैँ गर्जने र असहाय र पीडित मानवको संरक्षणखातिर प्राणोत्सर्ग गर्न समेत यिनी तत्पर देखिन्छन् । वास्तवमा यिनी सबल योद्धा मात्र होइनन् एक असल मानवतावादी स्रष्टा पनि हुन् । अतः मानवताको रक्षा एवं शोषित पीडितहरूको कल्याणका लागि क्रान्तिको दियो बालेर युगीन अन्धकार समाप्त गर्नुपर्छ भन्ने यिनको तीव्र चाहना यत्रतत्र देख्न सकिन्छ । 

दार्शनिक रुसोको ‘प्रकृतितर्पm फर्क’ भन्ने मान्यताबाट अभिप्रेरित यी स्रष्टाले ‘गाउँ फर्कनु छ’ कवितामा समाजघाती तत्त्वले गरिब तथा श्रमिक वर्गको शोषण गरिरहेको छ भन्ने सन्दर्भ सशक्त रूपमा उप्काएका छन् भने ‘कविता लेखेँ’ कवितामा शोषण, अन्याय एवं अत्याचारका विरुद्ध सशक्त रूपमा क्रान्तिमा उत्रिन आह्वान गरेका 

छन् । यिनी क्रान्ति चेतनालाई समाजमा व्यापक प्रचार गर्दै समाजलाई उन्नतिको शिखर यात्रा गर्न र प्रगतिको तगारो बनेका साँढेलाई लाठीले प्र्रहार गर्दै भगाउन चाहन्छन् । जागृतिशील चिन्तनका बाधक अमानवीय तत्त्वलाई परास्त गरी समाजमा स्वतन्त्रता एवं समानताको साम्राज्य स्थापित गर्नुपर्छ भन्ने विचार २०२० मा लिखित ‘कविता लेखेँ’ कवितामा यस प्रकार प्रस्तुत गर्छन् ः

बाटो मेरो छेकिरहेको एक अजङको साँढेलाई

लौरो लिइकन दूर लघारेँ मैले कविता लेखेँ ।

कविका अनुसार समाजमा असमानता व्यापक छ । यसले समाजलाई ढपक्कै ढाकेको छ । यसबाट कविको मन निकै 

पिरोलिएको छ । स्वार्थन्धताले विवेकहीन बनेका उच्च वर्गका मानिस समाजका दुर्बल वर्गलाई दुःख दिने काम गर्छन् । यस किसिमको सामाजिक सङ्कीर्णताको अन्त्य गर्न र उदात्त भावनालाई प्रश्रय दिई मानसिक उन्नयनका पक्षमा लाग्न यस्तो भनाइ अघि 

सारेका छन् ः

कलह, झगडा झारपात गोडी नासी ध्वस्त पारी

विश्व शान्तिभित्र क्रान्ति रोपिरहेको हामी नेपाली ।  

नेपाली जातिप्रति युगकविको ठुलो गर्व छ । नेपालीमा देखिने दूरदर्शिता, साहस र बहादुरीपन कविका निम्ति गर्व गर्ने कारण बनेको छ । नेपालीले गर्व गर्नलायक धेरै काम गरेका छन्; तीमध्ये विश्वमा शान्ति स्थापना गर्न क्रान्तिकारी अभियान सुरु गर्ने जाति नेपाली नै हो भन्ने कुराप्रति कविलाई विशेष गर्वको अनुभूति भएको छ । कविका विचारमा स्वाभिमानी वीर नेपाली समुद्रसमान गम्भीर अनि हिमालजस्तो धीर, अडिग, उदात्त स्वभावका छन् । उनीहरूमा आगो भए पनि शीतलता दिने, पानी भए पनि डढाउन सक्ने अनौठो क्षमता छ । नेपालीमा भएको यही अद्भुत र अनौठो क्षमतालाई ‘नेपाल’ कवितामा यिनले यसरी व्यक्त 

गरेका छन् ः

मान्छे तहाँका दिलदार हुन्छन् बाँचे पराधीन भई न बाँच्छन्

स्वतन्त्रतामा जब आँच लाग्छ, आगो बनेको यसको कथा छ ।

सिद्धिचरण श्रेष्ठका थुप्रै क्रान्तिचिन्तन प्रस्तुत गरिएका कवितामध्ये ‘मङ्गलमान’ बहुचर्चित कृति मानिन्छ । विद्यमान अन्याय अत्याचारको शमनका लागि ज्वालामुखी बन्दै अन्यायका विरुद्ध विरोधको उच्च स्वरलाई यस प्रकार प्रस्तुत गरेका छन् ः

अन्यायको विरोध नै आमाको हो सेवा 

आफूलाई जन्म दिने देशलाई टेवा 

अन्यायको सकेजति विरोध म गर्छु

नेपाल हुन् आमा मेरी यिनकै सेवा गर्छु ।   

परिवर्तनका पक्षधर युगकविले विषम परिस्थितिमा मात्र होइन; अपितु अनुकूल समयमा पनि क्रान्ति, मानवता, विश्व स्वतन्त्रता, बृहत्तर मानव कल्याणका निम्ति क्रान्तिचिन्तन आफ्ना रचानामार्पmत प्रस्तुत गरेका छन् । यिनमा रहेको क्रान्ति भावना युगका शोषकलाई चुनौती दिँदै सामाजिक सुधार तथा मानव कल्याणका लागि दिएको सन्देश वा मार्गदर्शन नेपाली साहित्यका निम्ति एक बहुमूल्य सम्पत्तिका रूपमा रहेको छ । 

आजीवन जनमानसलाई आन्दोलित गर्ने अनि एउटा ज्योतिस्तम्भ बनेर शोषण अन्याय अत्याचारका विरुद्ध आवाज बुलन्द गर्दै स्वतन्त्रता, समानता, प्रजातन्त्र र मानव कल्याणका लागि यिनले प्रेरणा एवं प्रोत्साहन दिइरहे । वास्तवमा यिनी क्रान्तिकारी पुरुष थिए र यिनका सम्पूर्ण रचना यसै दिशातर्पm उन्मुख छन् । 

क्रान्तिकारी विचारकै कारण क्रान्तिकारी क्रान्तिमा मात्र होमिएनन् आत्म बलिदान गर्न पनि पछि परेनन् । यिनकै प्रेरणाबाट वीर सहिद गङ्गालाल सहिद बने, लौहपुरुष गणेशमान सिंह, असल कम्युनिस्ट नेता मनमोहन अधिकारी लगायत राजनेता क्रान्तिमा सरिक हुन उत्प्रेरित भएका थिए भने राष्ट्रकवि माधव घिमिरे, केदारमान व्यथितजस्ता कविप्रतिभाहरू सिर्जनाकर्ममा रागेर शिखर चुमे । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment