अनमोल समाचारदाता
पथरी । मोरङका क्रिकेट खेलाडीहरूको खेल क्षमता र विकासका लागि पथरी शनिश्चरे नगर स्तरीय क्रिकेट खेल मैदानमा कंक्रिड पिच निर्माण गरिएको छ ।
आईतबार पथरी शनिश्चरे वडा नं २ को वडा कार्यालयको आव्हानमा क्रिकेट खेलाडी, वडाका जनप्रतिनिधि, सञ्चारकर्मी, क्रिकेटप्रेमी शुभचिन्तक, स्थानीय समाजसेवी तथा सर्वसाधारणहरूको सकृय श्रमदानमा कंक्रिट पिच निर्माण गरिएको हो ।
लामो समयदेखि क्रिकेट खेलाडीहरूले टाढा टाढासम्म धाउनुपर्ने बाध्यतालाई यो ’क्रिकेट पिच’ निर्माणपछि स्थानीय खेलाडी उत्पादन, उनीहरूको खेल क्षमता विकास र सम्बर्धनका लागि ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। सोही खेलमैदानमा आगामी फागुन महिनादेखि १ नगरस्तरीय क्रिकेट लिग प्रतियोगिता र अन्य क्रिकेट टुर्नामेन्ट समेतको आयोजना गरिने वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो ।
नगरपालिकाले खेलाडीहरूको खेल क्षमताको विकास र प्रवर्धनका लागि खेलकुदलाई विशेष ध्यानमा राखेर विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । तर, उपयुक्त खेलमैदानको अभावमा खेलाडीहरूले आफ्नो खेल क्षमता र प्रतिभा प्रस्फुटन गर्न नसकेको आफूले अनुभूति गरेको उहाँले बताउनुभयो ।
लागू औषध तथा दुव्र्यसनीबाट बचाउन पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै उक्त खेलमैदानमा आवतजावतका लागि आवश्यक सडक पूर्वाधार आदिको निर्माण भइरहेको बताउनुभयो। उहाँले “एक वडा एक खेलकुद मैदान“ को अवधारणालाई साकार पार्न सके स्थानीय खेलाडीहरूको खेल विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।।
पथरी शनिश्चरे वडा नं २ को सुदूर पूर्व बोक्रे चोकमा निर्माण भइरहेको उक्त नगरस्तरीय क्रिकेट रङ्गशाला करिब ५ बिघा क्षेत्रफलमा फैलिएको छ। उक्त रङ्गशालाको उत्तरपट्टि क्रिकेट खेलमैदान रहनेछ भने दक्षिणतर्फ भलिबल र फुटबल खेलका लागि खेलमैदानहरूको निर्माण गरिने जनाइएको छ। उक्त स्थानमा आउन र जान खेलाडीलाई विभिन्न सडक सञ्जालले समेट्ने र खेलमैदानकै पूर्वमा रहेको सुनझोडा खोला माथि संघीय सरकारबाट कुल ५ करोड ६८ लाख ९३ हजार ८५५ रुपैयाँको लागतमा हाल मोटरेवल पुलको निर्माण पनि भइरहेको छ। उक्त खेल मैदानमा पथरी शनिश्चरेका सबै वडाहरू, छिमेकी उर्लाबारी नगरपालिकाका वडा नम्बर १,२, ३ सहित वडाहरू र अन्य छिमेकी पालिकाबाट आउने क्रिकेट खेलाडीहरूले पनि आफ्नो खेल क्षमता, सीप र कला कौशललाई थप विकास गर्न सक्ने स्थानीय खेल पत्रकार अर्जुन काफ्लेको विश्लेषण छ । उक्त पिच निर्माणका लागि आवश्यक सिमेन्ट , ढुङ्गा गिटी र बालुवा क्रमशः समाजसेवी तथा पूर्व खेलाडी जयराम बिष्ट, खगेन्द्र थापा र हरि श्रेष्ठले उपलब्ध गराउनु भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment